मानदत्त रावल, जुम्ला ः जुम्लाको पातारासी गाउँपालिकाले स्थानीयको नाममा चुकेनी जलविद्युत् आयोजनामा दुई करोड रुपैयाँ लगानी गरेको छ । गाउँपालिकाको वडा नं. १ गढीगाउँमा निर्माण हुन लागेको जलविद्युत् आयोजनामा गाउँपालिकाले गाउँपालिकाका सबै घरधुरीको नाममा सेयर लगानी गरेको हो ।आयोजनाले पातारासी हिमालबाट बग्ने चुकेनी खोलामा ९ सय ९८ किलोवाटको जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । गाउँपालिकाले सबै ३ हजार ३ सय २० घरधुरीको नाममा सो आयोजनामा सेयर लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।
त्यसबाहेक गाउँपालिकाकै नाममा पनि १ करोड रुपैयाँको सेयर खरिद गरिएको छ भने गाउँपालिकाका १ हजार १ सय स्थानीयले व्यक्तिगत रूपमा ९० लाख रुपैयाँ सेयर लगानी गरेको चुकेनी खोला विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले बताए । आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि लगानी गर्ने अध्यक्ष बुढाले जानकारी दिए । उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २८ करोड ४४ लाख ३० हजार र थप बजेट अनुदान १८ लाख २८ हजार स्वीकृत भई बजेट सिलिङको पत्रसमेत प्राप्त भइसकेको बताए । यसैगरी कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पनि १ करोड रकम विनियोजन भएको उनले बताए । यस्तै आयोजना निर्माणका लागि एसियाली विकास बैंकले पनि ३ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।
०६९ वैशाखमै आयोजना निर्माण सुरु गरिए पनि लगानी अभावमा चुकेनी जलविद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । लगानी जुटेपछि अहिले टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ । ४० वर्षअघि नै सदरमुकाम खलंगाको साना जलविद्युत् आयोजना निर्माण भएको भए पनि २ सय २० किलोवाट क्षमताको उक्त आयोजनाले विद्युत्को माग धान्न सकेको छैन ।