
मानदत्त रावल
जुम्ला ः जुम्लाको हिमा गाउँपालिका – ४ कुडुगाउँकी गौरी सार्की अहिले ढाँका बुन्ने सीप सिक्न व्यस्त छन् । उनलाई यो सीप सिकेर ढाँका उद्योग सञ्चालन गरेर आयआर्जन गरी जीविकोपार्जन गर्ने योजना छ । विपन्न दलित समुदायकी गौरीलाई अहिले परिवारको पालनपोषण गर्ने निकै समस्या हुने गरेको छ ।
दुई छोराछोरी र दुई बुढाबुढी गरी चार जनाको घरपरिवार भएको गौरीलाई केही सीप सिकेर स्वरोजगार बन्ने ठुलो धोको रहेको छ ।
यस्तै सपना संगालेका विपन्न घरपरिवारका दुई पुरुष १६ महिला गरी १८ जनाले अहिले ढाँका बन्ने सीप सिकि रहेका छन् । ढाँका बन्ने सीप सिकेर स्वरोजगार बन्ने उनीहरुको सपना छ । ढाँका बुन्ने सीप सिक्दै गरेकी स्थानी गौरी सार्कीका अनुसार हामीले त्यो बेला विपन्नता र गरिवीका कारण पढ्न लेख्न पाएनौँ । उनले भनिन् अहिले छोराछोरी पढ्ने लेख्ने भएका छन् । यहि सीप सिकेर आयआर्जन गरी छोराछोरीलाई राम्रो शिक्षाका लागि व्यवस्थापन गर्ने सपना संगालेका छौँ ।
घरेलु तथा साना उद्योग विकास समिति जुम्लाको सहयोग तथा ग्रामीण परिवेश नेपाल जुम्लाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत ढाका बुन्ने तालिम सञ्चालन गरिएको हो ।
घरेलु तथा साना उद्योग विकास समिति जुम्लाका नायव सुब्वा देविराम न्यौपानेका अनुसार अहिले बजारमा ढाँका कपडाको माग बढेको छ । यसबाट आयआर्जन गर्न सकिने ठुलो सम्भावना रहेको छ उनले भने सीप सिकेर उद्योग सञ्चालन गरी आफ्नो क्षमता अनुसारको काम गर्न आवश्यक छ ।
राज्यले कानुनी दर्ता भएका उद्यमीलाई १० लाख जति सहुलियत रुपमा ऋण उपलव्ध गराउने गरेको उनले बताए । यसमा उद्यमीहरु नै सक्रिय र लगनशिल हुनुपर्ने उनको भनाई छ ।
ग्रामीण परिबेश नेपाल जुम्लाका अध्यक्ष अमर रोकायाका अनुसार ढाँका बुनाई तालिममा दुई लाख ७१ हजार ७ सय बजेट रहेको छ । यसै गाउँमा विपिन्न महिलालाई स्वरोजगार बनाउने उद्देश्यले हाते होजियारी तालिम पनि सञ्चालन भईरहेको उनले बताए । यसका लागि एक लाख ५३ हजार ६ सय ५० रुपैया बजेट रहेको छ । वेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि व्यवसायिक तरकारी खेती सीप विकास तालिम पनि सञ्चालन भएको जनाएको छ । यसका लागि एक लाख ८३ हजार १ सय ३५ रुपैया बजेट रहेको छ ।
तिला र तातोपानी गाउँपालिकाले पनि विपन्न महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ढाँका बन्ने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले गाउँसभा बाट बजेट विनियोजन गरी महिला सीप सिकाउने र स्वरोजगार बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरेको हो ।