
जुम्ला : पातारासी गाउँपालिका स्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका एच्छिक गणित विषयका शिक्षक लामो समयसम्म नआएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको छ । विदा नै स्वीकृत नगराई वैशाख महिनाको पहिलो साता मौखिक रूपमा घर जान्छु भनी गएका सिलोवा पाहावरी–३ सिराहका अमरनाथ शाह विद्यालयमा नआएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको हो ।
उनले ९–१२ कक्षामा ऐच्छिक गणित विषय पढाउने गरेका थिए । ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका प्रधानाध्यापक हरिबहादुर बुढाका अनुसार घर जान्छु भनी गएका शिक्षक अमरनाथ शाह नआएपछि वैशाख महिनादेखि बालबालिकाको पढाई प्रभावित भएको छ ।उनले भने–‘अमर सरलाई विद्यालयमा आउन पटकपटक अनुरोध गर्यौँ । तर अहिलेसम्म आउनुभएको छैन । आउन्न पनि भन्नु भएको छैन ।’ स्थानीय रेविका सुनारले भनिन्–‘समयमा पठनपाठन नभएपछि कसरी उत्तीर्ण हुन्छन् हाम्रा बालबालिका ?
चार शिक्षकको दरबन्दी रिक्त
ऋणमोक्ष माध्यामिक विद्यालय डिल्लीचौरमा चार जना शिक्षक दरबन्दी रिक्त रहेको जनाएको छ । शिक्षक दरबन्दी अनुसार १७ जना हुनुपर्नेमा अहिले १३ जना मात्र रहेको प्रधानाध्यापक हरिबहादुर बुढाले बताए । प्राविमा पाँच जना, निमाविमा तीन जना, माविमा पाँच जना र उमाविमा चार जना गरी १७ जनाको शिक्षक दरबन्दी हो । अहिले सामाजिक, गणित, अङ्ग्रेजी र ऐच्छिक गणित विषयका शिक्षक दरबन्दी रिक्त रहेको उनले बताए । शिक्षक नभएका कारण अहिले चार ओटै विषयको पढाई प्रभावित भएको विद्यालय प्रशासनले जनाएको छ ।
सट्टा शिक्षक खारेजीपछि पढाइ भएन
ऋणमोक्ष माध्यमिक विद्यालयमा सामाजिक विषय पठानपाठन गर्दै आएका शिक्षक कमलबहादुर शाहीले सट्टा शिक्षक राखेर स्रोत व्यक्तिका रूपमा काम गर्दै आएका छन् । उनी अहिले काजमा चन्दननाथ नगरपालिकाको शिक्षा शाखामा काम गर्दै आएको प्रधानाध्यापक हरिबहादुर बुढाले बताए । सरकारले फागुन महिनादेखि सट्टा शिक्षक खारेज गरेपछि कमलबहादुर शाहीको सट्टामा पढाउँदै आएका शिक्षक.नन्दबहादुर बुढा अहिले प्राविमा पढाउने गरेको उनले बताए । ९ र १० कक्षाको सामाजिक विषय पनि फागुन महिनादेखि पढाइ नभएको उनले बताए । विद्यालयमा सामाजिक विषयको पठनपाठन प्रभावित भएपछि काज फिर्ताका लागि चन्दननाथ नगरपालिकामा पत्रचार गर्दा पनि नगरपालिकाले सुनुवाइ नगरेको विद्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०७६ साउन २० गते सोमवार