मानदत्त रावल, जुम्ला ः जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वी भेगमा रहेको पातारासी गाउँपालिकाको छुमचौरमा बन्ने ‘हाईअल्टिच्युट ट्रेनिङ सेन्टर’को डिपिआर तयार भएको छ । दुई हजार आठ सय मिटर उचाईमा रहेको पातारासी गाउँपालिका – ३ छुमचौरस्थित मालिका मावि लोडचौरमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर बन्ने भएको हो ।
विश्वको अल्लो स्थानमा धान फलेर गिर्निज बुकमा रेकड राखेको स्थान छुमचौरमा ३२ करोड तीन लाख लागतमा हाई अल्टिच्युटको खेलकुद मैदान निर्माणका लागि डिपिआर तयार भएको जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख बरमबहादुर महतले बताए ।
नेपालकै गौरवको आयोजना हाइअल्टिच्यूट खेल मैदान निर्माणका लागि डिपिआर तयार हुँदा पनि स्थानीय तहले निर्माणका लागि कुनै चासो नदेखाएको उनले बताए । कर्णाली प्रदेश सरकारदेखि संघीय सरकारसँग छलफल तथा निर्माणका लागि बजेट माग गर्ने तयारी भइरहेको उनले बताए ।
हाइअल्टिच्यूट टे«निङ सेन्टरमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केटबल, एथलेटिक्सलगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गर्ने डिपिआरमा उल्लेख छ । त्यस्तै, तातो चिसो पानी भएको स्यूमिङ पुल, लैङ्गिकमैत्री छात्राबास, सुरक्षा गार्ड, पाहुना घर, टिकट काउन्टरसमेत निर्माण गरिने डिपिआरमा उल्लेख गरिएको छ ।
हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणको लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनको लागि कर्णाली प्रदेश खेलकुद गतिविधि जुम्ला पुगेको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले बताए । सचिव दाहाल नेतृत्वको टोलीले ‘ट्रेनिङ सेन्टर’को ३ पुष २०७४ मा सम्भाव्यता अध्ययनसमेत गरेको थियो ।
मालिका मावि लोडचौरमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर गर्न डिपिआर तयार भई सकेपछि अब विद्यालयलाई कहाँ सार्ने भन्ने निर्णय हुने पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।