
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आरथ्रोस्कोपी (दुरबीनको सहायताले जोर्नीको नसा च्यापिएको) शल्यक्रिया सेवा सुरु भएको छ ।
चन्दननाथ नगरपालिका ६ छिनागाउँकी ४३ वर्षीया जानकी सुनारको घुडाँको जोर्नी र वडा नम्बर ३ बुढ्थापावाडाका ३० वर्षीय गोविन्द खत्रीको कुमको जोर्नीको शल्यक्रिया शुक्रबार गरिएको छ ।
हाडजोर्नी उपचारमा जटिल र महँगो मानिने यो सेवा अमेरिकी चिकित्सक माइक भ्यान एनरिउको सहयोगमा सुरु गरिएको हो । अन्य ठाउँमा चार÷पाँच लाखसम्म खर्च लाग्ने यो शल्यक्रिया सेवा जुम्लामा भने करिब ४०÷५० हजार रुपैयाँमा पाइने हाडजोर्नी विभाग प्रमुख डा. मंगल रावलले बताए ।
शुक्रबार दुईवटा हाडजोर्नीको शल्यक्रिया डाक्टर रावलको नेतृत्वमा डा. धनबहादुर कार्की, डाक्टर पुजन रोकायाको टोलीले सम्पन्न गरेको थियो । त्यसमा अमेरिकी डा. एनरियुको विशेष सहयोग थियो भने एनेस्थेसियामा(विरामी बेहोस बनाउने) डाक्टर रविन खापुङ र डाक्टर अर्जुन तिवारी खटिएका थिए ।
डा. रावलले यतिवेला प्रतिष्ठानमा हाडजोर्नी सम्बन्धि अत्यन्त जटिल केशको उपचार गर्न उपकरण जनशक्ति र पूर्वाधार बनेको बताए । केही वर्ष अघिसम्म डाक्टर देख्न नपाउने कर्णालीबासीले प्रतिष्ठान खुलेपछि जटिल उपचार आफ्नै ठाँउमा पाएका छन् ।
०६८ सालमा स्थापित प्रतिष्ठानले एक दशकको अन्तरालमा क्रमशः आफ्नो गति अगाडि बढाई रहेको रजिष्ट्रार विश्वराज काफ्लेले बताए । प्रतिष्ठानमा एमआरआई बाहेक अरु सवै उपकरणको व्यवस्थापन भएको उनले बताए ।
त्यसैगरी प्रतिष्ठानबाट रोग निधात्मक सिटि स्क्यान, एक्सरे, भिडियो एक्सरे, इन्डोसकोपी, मुटुरोग एक्सरे कोलोस्कोपी, इसिजि र ल्याब प्रयोग सेवा रहेका छन् ।