हत्या आरोपिविरुद्ध किटानी जाहेरी दर्ता गर्दासमेत दुई वर्षसम्म प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी नबढाएको उनले प्रहरी नायव उपरीक्षक धामी समक्ष गुनासो गरिन् ।
छोरी रिता बुढ्थापा प्रहरी कहाँ पुगेको थाहा पाएपछि जिवनको उत्तरार्धमा ७६ वर्षिय मृतकका बुवा रामकृष्ण बुढ्थापा पनि जिल्ला प्रहरी कार्यालयमा पुगे । उनले पनि छोराको हत्यारामाथि अनुसन्धान गरी पीडितलाई न्याय दिन आग्रह गरे ।
चन्दननाथ नगरपालिका २ खोलीकोट निवासी तत्कालिन नयाँ शक्ति पार्टी जुम्लाका पूर्वजिल्ला संयोजक तथा केन्द्रीय सदस्य ४३ वर्षीय राधाकृष्ण बुढ्थापा ०७४ साउन २० गते मृत फेला परेका थिए । साउन २० गते विहान चन्दननाथ नगरपालिका ५ जुगाडखोला नजिकै उनको शव भेटिएको थियो ।
मृतकको टाउकोमा धारिलो हतियारको प्रहारका कारण चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो । मृतक बुढथापाका परिवारले हत्या भएको भन्दै घटनामा संलग्न पक्षलाई कारबाहीको माग गरेका थिए ।
तत्कालिन नयाँ शक्ति पार्टी जुम्लाले घटनाको सत्यतथ्य पत्ता लगाई कारबाहीको माग गरेको थियो । पार्टीको जिल्ला संयोजक नरेन्द्रनाथ योगीद्वारा ०७४ साउन २१ गते जारी विज्ञप्तिमा उक्त माग गरेका गरेका थिए ।
मृत अवस्थामा फेला परेका बुढ्थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पोष्टर्माटम गरिएको थियो ।
घटनामा संलग्न भएको आशंकमा आरोपित चन्दननाथ नगरपालिका ६ का सनलाइट होटलका संचालक २९ वर्षीय खड्गजित रोकाया र सोही वडाका ४२ वर्षीय एङ्गल लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएका दुवै जना अहिले पुर्पक्षका लागि कारागारमा छन् । अहिलेसम्म मुद्दा, जिल्ला अदालत जुम्लाले फैसला गरेको छैन ।
घटनाको आरोपित ८ जना मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरी अदालतमा मुद्दा पेश गरे पनि दोस्रो पटक ०७४ भदौ १२ गते मृतकका बुबा रामकृष्ण बुढ्थापाले जिल्ला सहकारी वकिल जुम्लामा पुरक जाहेरीका रुपमा थप आरोपिविरुद्ध किटानी उजुरी दर्ता गरेका थिए ।
तत्कालिन जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत तत्कालिन सुनिकोट गाविस ७ बझाङका ३५ बर्षीय भीमबहादुर बोहोरा, श्रीनगर हुम्ला स्थायी घर भएका चन्दननाथ नगरपालिका ९ बयालकाटिया बस्ने २२ बर्षीय खगेन्द्र बुमी, भञ्जाङ खर्क ६ काभ्रेपलान्चोक स्थायी घर भएका चन्दननाथ नगरपालिका ५ स्थित सनलाईट होटलका कुक(भान्से) २९ बर्षीय विरबहादुर तामाङ, गुठीचौर गाउँपालिका २ जुम्लाका २८ बर्षीय राम बोहोरा, सोही वडाका १७ बर्षीय विनोद गिरी, तातोपानी गाउँपालिका १ जुम्लाका १६ बर्षीय रविन्द्र बडुवालको नाममा किटानी जाहेरी दर्ता गरिएको पीडित पक्षका रामकृष्ण बुढ्थापाले बताए ।
उनले हत्याको आरोपमा किटानी जाहेरी दर्ता गर्दासमेत प्रहरीले घटनामाथि अनुसन्धान गरेन् ।
उक्त घटनाका विषयमा वकालत गर्दै आएका अधिवक्ता नरेन्द्रनाथ योगीले प्रहरीकै संलग्नतामा उक्त हत्या भएकाले प्रहरीले अनुसन्धान अघि नबढाएको दावी गरे ।
उनले यस्तो अवस्थाले गर्दा पीडित पक्षलाई न्याय भन्दा पनि पीडा थपेको र अपराधिलाई उन्मुक्ति दिन खोजेको अनुभुति भएको बताए । उनले भने ‘घटनाका विषयमा केन्द्रीय अनुसन्धान व्यूरोले पनि अनुसन्धान गरेको हो तर घटना भएको दुई बर्षसम्म अनुसन्धान प्रतिबेदन सर्वजनिक गरेको छैन् ।’
प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले घटनाको फाइल अध्ययन गरी कारवाही प्रक्रिया अगाडी बढाउने बताए । उनले भने ‘त्यो घटना हुदा हामी थिएनौं, घटना के कति कारणले भएको हो फाइल अध्ययन गरी कारवाही प्रक्रिया अगाडी बढाउने भन्दै पीडित पक्षलाई सम्झाएर पठाएका छौं ।’