सुर्खेत, माहामारीको रुपमा फैलिएको नोवेल कोराना भाईरस (कोभिड–१९)को संक्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारसँगै स्थानीय तह तयारीमा जुटेका छन् । जिल्ला र स्थानीय तहले प्रवेश गर्ने नाकामा हेल्थ डेस्क स्थापना र प्रचार प्रचारका कामलाई तीब्रता दिएका हुन् । मंगलबारसम्म कर्णालीका १० वटै जिल्लामा गरेर ३६ वटा हेल्थ डेस्क स्थापना भएका छन् भने अन्य क्षेत्रहरुमा पनि स्थापनाको तयारी भइरहेको सम्बन्धित प्रशासनले जानकारी गराएको छ ।
जसमा मुगुमा सबैभन्दा बढी ९ क्षेत्रमा हेल्थ डेस्क स्थापना गरिएको छ । भने रुकुम पश्चिममा ८, सल्यानमा एक, डोल्पामा २, जुम्लामा ५, जाजरकोटमा एक, सुर्खेतमा तीन, दैलेखमा दुई वटा हेल्थ डेस्क स्थापना गरिएको छ । जिल्ला अस्पतालमा एउटा हेल्थ डेस्क स्थापना भएको छ । यस्तै हुम्लामा ५ र कालीकोटमा हालसम्म कुनै पनि हेल्थ डेस्क स्थापना नगरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
३६ वटा हेल्थ डेस्क मध्ये ५ वटा नाकाहरु सुर्खेतको बबई, सुर्खेतकै पश्चिम कुहिने, सुर्खेत विमानस्थल, सल्यानको कपुरकोट र हुम्लाको हिल्सा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको हो । अन्य क्षेत्रहरुमा स्थानीय प्रशासनले सम्बन्धित स्थानीय तह, जिल्ला जनस्वास्थ्य कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका संघ संस्थासँगको सहकार्यमा हेल्थ डेस्कहरु स्थापना तथा अन्य प्रचारका कामहरु गरिरहेको प्रशासन कार्यालयहरुले जानकारी दिएका छन् ।
सम्बन्धित स्थानीय तहहरु एक आपसमा छलफल गरेर हेल्थ डेस्क स्थापना गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले जानकारी दिए । रास्कोट नगरपालिकाको भोली मात्रै स्थापना गर्ने भएको छ ।
३२ जना हेल्थ असिस्टेन्ट खटाइँदै
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ३ दिनभित्र ३२ जना हेल्थ असिस्टेन्ट (एचए) लाई कोराना संक्रमण लक्षित गरी बनाइएको ठाउँमा खटाइने जानकारी दिएको छ । मन्त्रालयले नयाँ भर्ना गरेर पठाउन लागेको हो । ‘उनीहरुको सोमबार मात्रै अन्तरवार्ता भयो । मंगलबार रिजल्ट प्रकाशन हुन्छ । मन्त्रालयका प्रवक्ता एवम् उपसचिव विष्णुप्रसाद अधिकारीले भने, ‘नयाँ भर्ना गरेका कर्मचारीहरु सम्बन्धित क्षेत्रमा गएको अवस्थामा परीक्षणका लागि सहज हुँनेछ ।’ साथै उनले अन्य कर्मचारीको पनि विभिन्न स्वास्थ्य कार्यालयबाट व्यवस्थापन भइरहेको र अपुग भए नयाँ भर्ना लिने समेत बताए । साथै मन्त्रालयले माक्सका लागि काठमाडौँको एक सप्लायर्स कम्पनीसँग कुरा भइरहेकाले केही दिनमा नै सिर्जीकल माक्स ल्याउने समेत बताए अधिकारीले बताए ।
३० हजार बढीलाई चेकजाँच
कर्णाली प्रदेश सरकारले स्थापना गरेका पाँच वटा नाकाहरुमा हालसम्म ३० हजारभन्दा बढी यात्रुको स्वास्थ्य चेकजाँच भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले चैत ३ गते साँझसम्मको तथ्याङ्क अनुसार बबईमा सबैभन्दा धेरै २५ हजार २ सय ९३ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । भने सल्यानको कपुरकोटमा ४ हजार ५ सय १०, पश्चिम सुर्खेतको कुइनेमा १ सय ३३, हुम्ला विमानस्थलमा ४४ जनाको चेकजाँच गरिएको छ ।
यस्तै ४ गते बिहानको जानकारी अनुसार सुर्खेत विमास्थलमा ५ सय २९ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ भने हुम्लाको हिल्सा नाकाको कुनै पनि तथ्याङ्क संकलन भइनसकेको र त्यसको लागि प्रयास भइरहेको निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन् । उनले प्रदेश सरकारले दैलेखको राकम कर्णालीमा पनि हेल्थ डेस्क राख्ने तयारी गरिरहेको समेत बताइन् ।
Karnali patra.com