जुम्ला चन्दननाथ नगरपालिका–१ का रमानन्द आचार्यको एक दशकको प्रयासले सार्थकता पाउँदै छ । ३५ हजार शब्दसहितको खस भाषाको शब्दकोश बजारमा ल्याउने तयारीमा छन्, उनी । ७५ वर्षीय आचार्य पूर्वशिक्षक हुन् । भन्छन्, ‘आफ्नो जीवनकालमै शब्दकोश तयार पार्ने लक्ष्य पूरा हुँदै छ ।’ प्राचीन खस राज्यको आधिकारिक भाषा खस वर्तमान नेपाली भाषाको जननी पनि मानिन्छ ।
डोटेली, बैतडेली, अछामी, दैलेखी, बझांगी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेलधुरी र गढवाली भाषाको जन्म पनि खसबाटै भएको मानिन्छ । पछिल्ला वर्षमा यो प्राचीन भाषा जोखिममा परेको छ । त्यसैले कर्णाली प्रदेशमा यो भाषाको संरक्षणलाई अभियानकै रूप दिने प्रयास सुरु भएको छ । त्यसैको एक अंग हो, पूर्वशिक्षक आचार्यले तयार पारेको शब्दकोश पनि । जुम्लाको सिँजा उपत्यकालाई खस भाषाको उद्गम थलो मानिन्छ ।
खस भाषामा पाठ्यपुस्तक
कर्णालीका स्रष्टाले त खस भाषा संरक्षण अभियान थालनी गरेको धेरै भयो । पछिल्ला दिनमा स्थानीय तहका सरकार पनि यसमा जुटेका छन् । जुम्लाको तातोपानी गाउँपालिका तिनैमध्येको हो, जसले गत शैक्षिक सत्रदेखि पाठ्यपुस्तक नै तयार पारेर २५ विद्यालयमा खस भाषामा पठनपाठन सुरु गराएको छ । हाल कक्षा १ देखि ३ सम्म खस भाषामा पठनपाठन हुन्छ ।
आगामी शैक्षिक सत्रदेखि कक्षा ४ र ५ मा पनि पठनपाठन सुरु गरिने गाउँपालिकाको शिक्षा शाखा प्रमुख छायादत्त चौलागाईं बताउँछन् । उनका अनुसार कक्षा १ देखि ५ सम्मका तीन हजार आठ सय ५१ विद्यार्थीले आगामी शैक्षिक सत्रदेखि खस भाषा पढ्नेछन् । जुम्लाकै सिँजा गाउँपालिकाले पनि आगामी शैक्षिक सत्रदेखि पठनपाठन गर्ने गरी पाठ्यपुस्तक तयार पारेको छ । पाठ्यपुस्तकमा प्राकृतिक स्थल, विभिन्न मस्टो मन्दिर, ऐतिहासिक गुरुफोक्टो, दरबार, कालीमार्सी धान, फापर, कागुनो, स्याउ, सिमीलगायत कृषिउपज समेटिएका छन् । यार्सागुम्बा, घुच्चीच्याउजस्ता जडीबुटी पनि पाठ्यपुस्तकमा राखिएको छ ।
कर्णालीका स्रष्टाले त खस भाषा संरक्षण अभियान थालनी गरेको धेरै भयो, पछिल्ला दिनमा स्थानीय तहका सरकार पनि यसमा जुटेका छन्
अभियानमा स्रष्टा
दुई वर्षयता कर्णालीका स्रष्टाले खस भाषामै गजल, कविता, देउडा गीतका पुस्तक प्रकाशन गरिरहेका छन् । जस्तो– साहित्यकार कृष्णराज धमलाले ‘देउडा बाह्रखरी’ पुस्तक प्रकाशन गरेका छन् । यस पुस्तकमा नेपाली भाषाका स्वर वर्णमा सबै अक्षर र व्यञ्जन वर्णका बाह्रखरीका हरेक अक्षरबाट गीत बनाइएको छ । आफ्ना देउडा गीतबाट भर्खर विद्यालय जान थालेका बालबालिकालाई नेपाली शब्दको अर्थ र भाव बुझ्न सजिलो हुने उनी बताउँछन् । ‘देउडा बाह्रखरी’लाई कालीकोटको रास्कोट नगरपालिकालगायत स्थानीय तहले पाठ्यपुस्तक बनाएका छन् । उनको देउडा बाह्रखरीका गीत यस्ता छन् :
अ– अनिकाल्मा बिउ जोगिजाउ, जिउ जोगिजाउ हुल्मा
आ– आश् दिन्या, भरोसा दिन्या, सन्तान् होइजाउ कुल्मा
इ– इतिहास्को इज्जत हुन्छ, इतिहास् रच्नु छ
ई– ईश्वरको भर हुँदैन, भर मानी बच्नु छ
यस्तै, अर्का स्रष्टा अर्जुन आचार्यले खस भाषामा ‘कर्नाली प्रेम’ शीर्षकको कविता रचना गरेका छन् । उनको कवितामा धन कमाउन परदेसिएकाहरूको पीडा र भोगाइ उल्लेख छ ।
पल्ला घरखेतका मात बुझाउँला भनी
म सहर पस्याकोपन मस्तै भैगयोछ
मस्तै भैगयोछ मेरा छोरट्याकन मिठि लिन जाँदो भनी
छोडि आयोका खलाका डिलमनी
कोजानी क्या अद्दाछन् मेरी सुवाका दन्त लहरैले
यसैगरी, कालिकोटका स्रष्टा रत्नकमल विष्टले देउडा शैलीमा ‘पौला झल्का’ नामको गजलसंग्रह प्रकाशित गरेका छन् । उनका गजलमा देउडा लय र खस भाषा मुखरित छन् । कामको खोजीमा बिदेसिएको युवकले त्यहाँ काम नपाउँदा र काम पाएर पनि पारिश्रमिक नपाउँदाको पीडा उनले गजलमा यसरी उतारेका छन् ः
घुम्दै छौ परदेशका गल्ली काम पायाको छैन
जुठाभाडा धुँदा पन दाम पायाको छैन
पाहाडकै झल्को आउँदो तराई भयापन
सम्झिरहेई प्यारी सुवा पराइ भयापन
कालिकोटका शिक्षक सबराज बमले हालै देउडा लयमा ‘गणित साहित्य’ प्रकाशन गरेका छन् । देउडामा विद्यार्थीलाई गणितका सूत्र घोकाउने उनको प्रयासले कर्णाली प्रदेशमा चर्चा बटुलेको छ । कालिकोटकै नेत्रराज शाहीले ‘देउडामा अमर अनिपाल शाही’ नामक गीतिसंग्रह प्रकाशन गरेका छन् । गजलकार पुष्पराज आचार्य र अर्जुनप्रसाद आचार्यले खस भाषामै रचना गर्दै आएका छन् ।
स्रोत नयाँ पत्रिका
https://www.nayapatrikadaily.com/news-details/38974/2020-03-18