
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण कर्णालीमा बढ्दो अभावको अन्त्य गर्न र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउने भएको छ । त्यसका लागि कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको नेतृत्वमा आपूर्ति समितिलाई सक्रिय बनाउने जनाइएको छ ।
बिहीबार कर्णाली सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरू र मन्त्रालयका सचिवसहितको बैठकले आपूर्ति व्यवस्था, कोरोना संकट समाधानका लागि प्रतिरोध कार्य र स्वास्थ्यकर्मीका लागि आवश्यक औषधि र उपकरणको व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो । ‘विश्वव्यापी रूपमा देखिएको कोरोना संकटको समाधान सरकारको तत्कालीन प्राथमिकता हो,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘कोरोना रोकथाम तथा प्रतिकारका कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।’
स्वास्थ्यकर्मीका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामग्री र औषधिलगायतका सामग्री तत्काल आपूर्तिका लागि संघीय सरकार, निजी आपूर्तिकर्ता, बाह्य आपूर्तिकर्तालाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा सेवा प्रवाह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जुम्ला, कालिकोट, मुगु र हुम्ला जिल्ला र चौरजहारी सामुदायिक अस्पतालबाट रुकुम–पश्चिम, जाजरकोट, डोल्पा र पूर्वी सुर्खेत जिल्लाको कार्यक्षेत्र तोकी जनशक्ति परिचालन गर्ने व्यवस्थासमेत मिलाउने भएको छ । प्रतिकार्य योजनाका लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी दिएको जनाइएको छ ।
प्रदेश राजधानी, जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाइनको समन्वय सहजीकरण गर्न भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसी, प्रदेश अस्पताल र जिल्ला अस्पतालहरूमा शंकास्पद बिरामीहरूलाई आइसोलेसनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयका लागि सामाजिक विकासमन्त्री दल रावललाई जिम्मेवारी दिने निर्णयसमेत बैठकले गरेको छ ।
https://www.nayapatrikadaily.com/news-details/39718/2020-03-28