
जुम्ला : कोरोना परीक्षणमा जुम्लाका तीन सय २४ जनाको रिपोर्टमा संक्रमण भेटिएको छैन । भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका तीन सय २४ जनाको स्वाब संकलन गरी २५ चैत ०७६ मा घुम्ती मेडिकल टोलीले कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले कोरोना परीक्षणका लागि २५ चैतमा काठमाडौँ स्वाब संकलन गरी पठाएकोमा सोमबार तीन सय २४ जनाकै रिपोर्टमा कोरोना संक्रमण नभेटिएको बताए ।
२५ चैत ०७६ मा कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा ५०, हिमा गाउँपालिकाको देवारगाउँ खेल मैदानमा एक सय २४ र जुम्लाको विमाल स्थलमा एक सय ५० गरी तीन सय २४ जनाको स्वाब संकलन गरी परीक्षण गर्न काठमाडौं पठाएको थियो ।
संघीय सरकारअन्तर्गतको कोरोना भाइरस (कोभिड– १९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली र कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले स्वाब संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो ।
यसअघि पहिलो चरणमा तीन जना र दोस्रो चरणमा ६ जना गरी ९ जनाको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । यहाँका स्थानीय १८ जना क्वारेन्टाइनमा बसेका छन् भने दुई सय ४४ जना घर फिर्ता भएको उनले बताइन् । जुम्लाभर अहिले दुई सय ६६ बेडको क्वारेन्टाइन रहेका छन् । चार हजार ८ सय ५७ जनाको हेल्थ डेस्कमा स्क्रिनिङ गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।