
बाँकेकाे नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । नयाँ सातै जना संक्रमित नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमणकाे पुष्टि भएको छ । मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।
यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
https://www.nayapatrikadaily.com/news-details/42721/2020-05-05
प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार