लकडाउन थप कडाइ, अन्तरजिल्ला आवागमनमा रोक

 जुम्ला ः कर्णालीका कुनै पनि जिल्लामा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिए पनि कोरोना अन्य प्रदेश तथा जिल्लामा संक्रमण तीव्र गतिमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले लकडाउन थप कडाइ गरेको छ । यसअघि वितरण गरिएका ई पास रद्द गर्दै प्रशासनले १ जेठदेखि एक जिल्लाबाट अर्काे जिल्ला जानमा पनि रोक लगाएको छ ।
जुम्ला लगायत अहिले कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना भाइरस संक्रमण नदेखिए पनि अझै ढुक्क हुने स्थिति नदेखिएकाले प्रशासनले एक जिल्ला देखि अर्काे जिल्ला आवागमनमा रोक लगाएको हो ।
लकडाउन अवधिभर जुम्लामा ११ हजार १७ जना नागरिक भित्रिएका छन् । यस मध्ये एक हजार २ सय ६२ जनाको कोरोना आरटी पिसिआर परीक्षण र २ सय ६१ जनाको मात्र ¥यापिड डाइगोनोस्टिक टेष्ट भएको छ । रिपोर्ट सवै जनाको नेगेटिभ आएको छ ।
कोरोना परीक्षण भएका नागरिकको नजिता नेगेटिभ भएपनि अहिले नै ढुक्का भएर बस्ने स्थिति भने नरहेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडले बताइन् । जिल्लाका नाका अझै कडा बन्द गर्ने तयारी गरेको छौँ उहाँले भन्नुभयो अन्य जिल्लामा भाइरस तिब्र गतिमा फैलिरहेको हुनाले आम नागरिकले सचेत हुन आवश्यक रहेको छ ।
अब अत्यावश्यक अवस्थामा अन्तरजिल्लाका लागि प्रमुख जिल्ला अधिकारीको स्वीकृतमा पास जारी गरिने छ । जुम्ला जिल्लाबाट काठमाडौँ उपत्यका जानका लागि गृह मन्त्रालयको स्वीकृत नम्बर प्राप्त भएको खण्डमा मात्र पास जारी गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । पास स्वीकृतका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने स्पष्ट प्रयोजन र त्यसको पुष्ट्याई अनिवार्य खुलाएर निवेदन पेश गर्नुपर्ने प्रशासनले जनाएको छ ।
जुम्लामा ११ हजार १७ जना नागरिक भित्रिएका मध्ये क्वारेन्टाइनमा बसेका मध्ये १ हजार १ सय १ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएका छन् । अहिले जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका ५ सय २१ बेडको क्वारेन्टाइनमा १४ जना मात्र क्वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस