मापदण्डअनुसार जिल्ला स्तरीय क्वारेन्टाइन निर्माण


जुम्ला ः फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ल स्तरीय मापदण्ड अनुसारको क्वारेन्टाइन निर्माण गरिने निर्णय भएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले मापदण्डअनुसारको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरिएको हो ।
यहाँका स्थानीय तहमा मापदण्डअनुसारको क्वारेन्टाइन निर्माण नभएको उच्च अदालत सुर्खेत जुम्ला इजलासमा परेको रिटलाई सुनुवाई गर्दै मापदण्ड अनुसार निर्माण गर्न आदेश गरेपछि सरोकारवाला निकायको समन्वयमा जिल्ला स्तिर क्वारेन्टाइन निर्माण गरिएको हो ।

भारत लगायत तेस्रो मूलुक तथा नेपालको संभावित जोखिमको स्थानबाट जुम्ला जिल्लामा भित्रिने नागरिकहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । कर्णाली प्राविधिक शिक्षालयमा रहेको क्वारेन्टाइनलाई जिल्ला स्तरीय एकिकृत क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
आवश्यकताको आधारमा यसको क्षमता समेत सबै सरोकारवाला निकायको समन्वयमा स्तरोन्नति गर्ने र क्वारेन्टाइनमा बस्ने व्यक्तिको खानपान लगायतको व्यवस्थापन सम्बन्धित पालिकाको व्यक्तिहरूको संख्याको आधारमा व्यहोर्ने निर्णय भएको छ ।
जिल्ला बाहिरका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने अवस्था आएमा आवश्यकताको आधारमा सबै पालिकाले दामासाहीको आधारमा खर्च व्यवस्थापन गर्ने निर्णय पनि भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
कोरोना संक्रमित बिरामीलाई अस्पताल ल्याउन र लैजानको लागि समाजसेवी देवेन्द्रबहादुर शाहीले एक लाख रकमबाट सवारी साधनको (एम्बुलेन्स) व्यवस्थापनका लागि सहयोग गर्ने भएका छन् ।
आवश्यकताको आधारमा अन्य भाडाको लागि सबै स्थानीय तहले एम्बुलेन्स व्यवस्थापनका लागि ५०÷५० हजार रुपैया विनियोजन गर्ने तयारी गरेका छन् । यसको संयोजन जिल्ला समन्वय समितिबाट गर्नको लागि अनुरोध गर्ने निर्णय गरिएको जनाएको छ । क्वारेन्टाइनमा नेपाली सेना, प्रहरीसहितको कडा सुरक्षाकर्मीको व्यवस्था गर्नुका साथ नियमित रुपमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरिने पनि निर्णय भएको छ ।
स्थानीय स्तरमा निगरानी समुह गठन
बाहिरबाट जिल्ला भित्रिने व्यक्तिलाई निगरानी गर्नका लागि वडा स्तरीय वडाध्यक्षको संयोजकत्वमा निगरानी समूह गठन गरिने छ । जसको राजनीतिककर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय युवा समूह लगायत सबैको सहभागीता र सहयोग लिने गरी गरी निगरानी समुह गठन गर्ने निर्णय गरिएको हो ।
जिल्लास्थित विपद व्यवस्थापन समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहोरात्र क्रियाशिल भएको योगदान पु¥याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, संचारकर्मीलाई धन्यवाद ज्ञापन गरेको छ ।
राजनीतिककर्मी, राष्ट्र सेवक कर्मचारी, समाजसेवी, सबै सरोकारवाला वर्ग तथा निकायहरू र सर्वसाधारण नागरिकलाई समेत धन्यवाद दिदै आगामी दिनमा सहकार्यको लागि एकजुट हुँदै विपद् प्रतिकार्यको लागि हातेमालो गर्न समेत आव्हान गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
भारतबाट आएकालाई सिधै क्वारेन्टाइनमा
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बाँकेको नेपाल–भारत सीमा रुपैडिहाबाट उद्धार गरी ल्याएका नागरिकलाई सुरक्षाकर्मी स्कटीङमा क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । लकडाउनका कारण ४५ दिनदेखि अलपत्र परेका जुम्लाका २८ जना नागरिक उद्धार ल्याएर जिल्ला स्तरीय क्वारेनटाइनमा राख्ने तयारी गरिएको हो ।
रोजगारीको सिलसिलमा भारत गएका उनीहरू डेढ महिनादेखि स्वेदश फिर्ताको लागि रुपैडिहामा कुर्दै बसेका थिए । रुपैडिहामा आइपुगेका उनीहरूलाई कहिले बहराइज त कहिले नानपारामा रहेको क्वारेन्टाइमा राखिएको थियो । बिहीबार उनीहरूलाई सीमा क्षेत्रमा ल्याएर छाडिएको थियो । जुम्लाको हिमा गाउँपालिका–१ का गगनबहादुर शाहीका अनुसार बिहीबार मध्यरातमा भारतीय सुरक्षाकर्मीले सीमा नाका रुपैडिहा ल्याएर छाडेको हो । बिहीबारदेखि चाउचाउको भरमा बसेको उनले बताए ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी बञ्जाडेले सीमा नाकामा अलपत्र परेका नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा प्रहरी स्कर्टिङ गरेर जिल्लामा ल्याएर क्वारेन्टाइनमा राख्ने तयारी हो । ‘शनिबारदेखि जिल्लास्तरीय क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालयमा राख्ने तयारी गरिएको उनले बताइन् ।’
उद्धार गरी ल्याइएका हिमा गाउँपालिकाका २८ जना नागरिकको नाग्मदेखि प्रहरी स्कर्टिङबाटै क्वारेन्टाइनमा राख्ने भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने, ‘सुरक्षा व्यवस्था कडा पार्न र उनीहरूलाई चेकजाँच पनि व्यवस्थित बनाउन जिल्लास्तरको एकै स्थानमा क्वारेन्टाइन बनाएर राख्ने व्यवस्था गरिएको हो ।’

प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस