बाँकेका युवाको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई

नेपालमा दुई सय ९१ जनामा कोरोना सक्रमण

बाँकेस्थित क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतक युवामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षीय  युवाको मृत्यु भएको थियो ।

देवकोटाका अनुसार गत ३० वैशाखमा भारतबाट आएका ती युवामा शुक्रबार राति ज्वरो र झाडापखालालगायतका समस्या देखिएको थियो । घटनाको विवरण आउन बाँकी रहेको उनले बताए ।

नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि नेपालमा कोरोना भाइरस संक्रमणबाट सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।  नौ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएपछि उनी घर गएकी थिइन् । तर, ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई स्थानीय अस्पतालबाट बिहीबार धुलिखेल ल्याइएको थियो ।

धुलिखेल अस्पतालका चिकित्सकहरूले उनलाई अस्पताल ल्याएलगत्तै मृत घोषणा गरेका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनको स्वाब धुलिखेल अस्पतालमै पिसिआर विधिबाट परीक्षण गरिएको थियो । धुलिखेलमा रिपोर्ट पोजेटिभ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको थियो ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ । सोहीक्रममा उपत्यकाका विभिन्न स्थानमा चार सयभन्दा बढीको नमुना परीक्षणको तयारी छ । जसमा एक सय ५० जनाको पिसिआर र दुई सय ५० जनाको आरडिटी परीक्षणका लागि नमुना संकलन सुरु भएको उनले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमितको संख्या भने दुई सय ९१ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । संक्रमितमध्ये ३६ जना निको भएका छन् ।

गत २४ घन्टामा पिसिआर विधिबाट एक हजार चार सय ६९ वटा नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट दुई हजार २० वटा गरी जम्मा तीन हजार चार सय ८९ वटा परीक्षण भएका छन् ।

अहिलेसम्म पिसिआर विधिबाट २८ हजार एक सय ६० र आरडिटी विधिबाट ६७ हजार ७६९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

प्रवक्ता देवकोटाका अनुसार उपत्यकामा ३५ र बाहिर तीन सय ११ गरी तीन सय ४६ जना आइसोलेसनमा रहेका छन् । अहिले देशभरि १८ हजार  तीन सय ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।

https://www.nayapatrikadaily.com/news-details/43514/2020-05-17

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस