काठमाडौँ ः देशभर कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।
पछिल्लोपटक थप भएका सातजनासँगै कुल संक्रमितको संख्या बढेको हो । जसमा ६ सय दुई पुरुष र ८० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितहरूमा अछापका ३२ वर्षका पुरुष, बर्दियाका २२, २४ र १८ वर्षका पुरुष रहेका छन् । त्यसैगरी पर्साका १८ वर्षका पुरुष र काठमाडौं घर भई हाल कलैयामा कार्यरत २८ वर्षका पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
हालसम्म देशमा कोरोना संक्रमणका कारण चारजनाको निधन भएको छ । नेसनल मेडिकल कलेज पर्सामा उपचारका क्रममा निधन भएका बाराका एक ७० वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ पाइएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
निधन भएका उनी उपचारका क्रममा यही जेठ २ गते अस्पतालमा भर्ना भएको र ४ गते निधन भएकाे थियाे । उनको कोरोना परीक्षणका लागि ३ गते स्वाब परीक्षण गरेको र रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
उनकाे दाेहाेऱ्याएर परीक्षण गर्दा पनि साेमबार रिपाेर्ट पाेजेटिभ नै आएकाे प्रवक्ता देवकाेटाले जानकारी दिए ।
हालसम्म कोरोना संक्रमण निको भएर एक सय १२ जना व्यक्ति डिस्चार्ज भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
पछिल्लो समय २४ जना डिस्चार्ज भएको र जसमा नाै महिला १५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म पिसिआर विधिबाट ५१ हजार ६ सय ४२ मा कोरोना परीक्षण गरिएको छ । त्यसैगरी आरडिटी विधिबाट ९५ हजार एक सय ९२ जनामा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर गरी ४६ हजार २९ जना क्वारेन्टाइनमा रहेका छन् ।
कोरोना संक्रमित प्रदेश १ मा ६०, प्रदेश २ मा दुई सय एकजना, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा तीनजना, प्रदेश ५ मा दुई सय ५६ जना, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० संक्रमित आइसोलेसनमा बसेर उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले देशका विभिन्न २० स्थानबाट कोरोनाको परीक्षण हुने पनि जनाएको छ ।
https://www.nayapatrikadaily.com/news-details/44015/2020-05-25