
जुम्ला–सुर्खेतको गुर्भाकोट नगरपालिका–७ स्थित क्वारेन्टाइनमा बसेका स्थानीय एक युवाको मृत्यु भएको छ । उनी १३ दिनअघि भारतबाट गाउँ फर्किएपछि क्वारेन्टाइन बसेका थिए । सोमबार विहान करिब १० बजेतिर उनको मृत्यु भएको गुर्भाकोट नगरपालिकाका प्रखुख हस्त पुनले जानकारी दिए ।
उनका अनुसार मृतक युवा क्वारेन्टाइन बस्नु पहिलेदेखि नै बिरामी थिए । केहिदिन अघि लडेर उनलाई सामान्य चोटसमेत लागेको थियो । सोमबार विहान आफैले पकाएको खाना खाएपछि एक्कासी बसिरहेको बेला उनको मृत्यु भएको बताइएको छ । मृत्युपछि उनको स्वाब परीक्षणका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । पीसीआर रिपोर्टपछि मात्रै उनको मृत्यु कोरोना भाइरस वा अन्य कारणले भएको भन्नेबारे स्पष्ट हुने छ ।
त्यसैगरी कर्णाली प्रदेशमा थप १ सय १० जनामा कोरोना पृष्टी भएको छ । प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार १ सय ७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा गरिएको पीसीआर परीक्षणमा ३ जना गरी सोमबार थप १ सय १० जनामा कोरोना पृष्टी भएको हो ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७७ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमबार पृष्टी भएका थप नयाँ संक्रमित मध्य सुर्खेतका १९ जना रहेका छन् ।
जसमा बराहताल गाउँपालिका ३, चौकुने गाउँपालिका ३, लेकवेशी नगरपालिका ४, पञ्चपुरी नगरपालिका ८ र सिम्ता गाउँपालिका १ जना रहेका छन् । यस्तै दैलेखका थप ८८ जनामा कोरोना पृष्टी भएको हो । जसमा दैलेख वेलकाँडा १, दुल्लुनगरपालिका १ र नारायण नगरपालिका २ जना हुन् । भने अन्य सबै संक्रमित दैलेख नौमुले गाउँपालिकाका हुन् ।
कर्णालीमा हालसम्म ९४ जनाले कोरोना जीतेर घर फर्किएका छन् । कर्णालीमा हालसम्म सबैभन्दा बढि दैलेखमा ६ सय २७ जना सबैभन्दा कम हुम्ला र डोल्पामा १÷१ र मुगुका २ जनालाई कोरोना संक्रमण पृष्टी भएको छ । अन्य जिल्लामा कोरोना संक्रमण देखिए पनि रुकुमपश्चिम भने अँझै सुरक्षित छ ।
कर्णालीमा पृष्टी भएका कोरोना संक्रमितहरुमा सल्यानका १ सय ३७, सुर्खेतका २ सय ३१, जाजरकोट ८, कालिकोट २८, जुम्लामा २४ र अन्य प्रदेशका १६ जना रहेका छन् । ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टी छ ।