


देशभर २२ प्रयोगशालाबाट १ लाख ७६ हजार ५८१ को कोरोना जाँच भएको मन्त्रालले विवरण सार्वजनिक गरेको छ । प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटमा परीक्षण गर्दै आएपनि पछिल्लो समयमा सुर्खेत, दैलेख, रुकुमपश्चिम जिल्लाका समेत परीक्षण गर्ने गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शंकास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएको बताए । उनकाअनुसार शनिबारसम्म १३ हजार १५४ जनाको परीक्षणमा ३७८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेसिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा. विजय अर्यालयले पिसिआर मेसिनका बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले चीनमा यसअघि नै उक्त मेसिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए ।
जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पिसिआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेसिन सञ्चालनका लागि तालिमसमेत लिएका हुन् । रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब संकलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए । जुम्लाका आठै स्थानीय तहमा एक महिनाका लागि १५ जना चिकित्सक परिचालन गरिएको छ ।
थप पढनुहोस: https://www.healthaawaj.com/karnali-provenance/19235/
Find us on Twitter: @healthaawaj | Facebook: HealthAawajOfficial
थप पढनुहोस: https://www.healthaawaj.com/karnali-provenance/19235/
Find us on Twitter: @healthaawaj | Facebook: HealthAawajOfficial
प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार