
जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका अठारदिने शिशुसहित २४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
स्वाब परीक्षणमा कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेनमा रहेका एक जना शिशुसहित २४ जनाको रिपोर्ट १४ दिनपछि पुन ः परीक्षण गर्दा नेगेटिभ आएपछि विहिबार साँझ घर फर्काएको हो ।
सिंजा गाउँपालिका – ४ काडागाउँकी ३९ बर्षीया महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।
प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुन परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चासहित २४ जनालाई घर पठाएको अस्पताल निर्देशक डा. मंगल रावलले बताए । उनले भने “अब आइसोलेसनमा १२ जना रहेका छन् । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आउने अपेक्षा गरिएको छ ।”
कोरोना रिपोर्ट नेगेटिभ आएर आइसोलेसनबाट घर फर्किने क्रममा खादा ओडाएर विदाई गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अझै पनि १४ दिनसम्म होम क्वारेन्टिनमा बस्न सुझाए । चिकित्सकहरुको सुझाबलाई मनन गर्दै व्यक्तिगत अनुशासन र सामाजिक दुरी कायम गर्न उनले अनुरोध गरे ।
कोरोना संक्रमणबाट निको हुनेमा सुत्केरी महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरु रहेका छन् । यसअघि पनि भारतबाट आएका केही व्यक्ति र क्वारेन्टिन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी २६ जनालाई कोरोना संक्रमणबाट मुक्त भएर घर फर्केका थिए ।