कर्णाली प्रदेशमा १२ जना कोरोना संक्रमित थपिए, १३ भए डिस्चार्ज

कर्णाली प्रदेशमा बिहीबार १२ जना कोरोना संक्रमित थपिएका छन् भने १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका दुईजना, सुर्खेत र जाजरकोटका एक–एकजना गरी पाँचजनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी दैलेख जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकै पाँचजनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा मुगुका एकजना र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुपश्चिमको एकजनामा गरी जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. तिवारीले जानकारी दिए ।

कर्णालीमा योसँगै कोरोना पुष्टि हुनेको संख्या १७ सय २६ पुगेको छ ।

कर्णालीमा बिहीबार १३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सल्यान वनगाड कुपिण्डे नगरपालिकाको आइसोलेनसनबाट नाैजना, दैलेख अस्पतालबाट एकजना, दैलेखकै महावु गाउँपालिकाको आइसोलेसनबाट दुईजना र कर्णाली प्रदेश अस्पतालबाट एकजना गरी १३ जना डिस्चार्ज भएको डा. तिवारीले बताए ।

‘हाल कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या एक हजार चार सय ८८ पुगेको छ,’ उनले भने, ‘सक्रिय संक्रमितको संख्या दुई सय ३२ जनामा रहेको छ ।’

https://www.nayapatrikadaily.com/news-details/47381/2020-07-16

 

प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस