मानदत्त रावल
जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि १८ हजार ७ सय १४ जनाको स्वाब परीक्षण गरेको छ । प्रतिष्ठानले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएकोले काठमाडौँ पछि जुम्लामा स्वाब परीक्षण भएको हो ।
स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पिसिआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए । सार्वजनिक तथ्यांक अनुसानर काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८१ हजार ३११ को पिसिआर भएको छ । त्यसपछि जुम्लामा १८ हजार ७१४ को पिसिआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको प्रतिष्ठानका रजिष्ट्रार काफ्लले बताए । जुम्लाको मात्रै ४ हजार ८५७ जनाको स्वाब परीक्षण मध्ये ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमिण पुष्टि भएका मध्ये ६८ जना निको भएर घर फर्केका छन् भने प्रतिष्ठानको आइसोलेसनमा एक जना मात्र रहेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।
देशभर २७ प्रयोगशालाबाट ३२ लाख ३ हजार ८३५ को कोरोना जाँच भएको मन्त्रालले विवरण सार्वजनिक गरेको छ । प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा परीक्षण गर्दै आए पनि पछिल्लो समयमा सुर्खेत, दैलेख, रुकुमपश्चिम जिल्लासहित सुदुरपश्चिम प्रदेशका अछाम, बाजुरा र डडलधुरा जिल्ला समेतका परीक्षण गर्ने गरेको छ ।
प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले भारतबाट आएका र शङ्कास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएको बताए । उनले भने “दैनिक १८ घण्टा प्रयोगशाखा सञ्चालनमा रहने गरेको छ ।”
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेशिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा विजय अर्यालयले पिसिआर मेशिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले चीनमा यसअघि नै उक्त मेशिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए ।
जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पिसिआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेशिन सञ्चालनका लागि तालीमसमेत लिएका हुन् ।