
जुम्ला ः प्रा.डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्तिप्रति आपत्ति जनाएका छन् । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै केसीले वरिष्ठताको आधारलाई भत्काएर कार्यकारी निर्देशक नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका हुन् । केसीले यो नियुक्तिलाई कार्यकर्ता भर्तीको संख्यासमेत दिएका छन् ।
मंगलबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले अर्थोपेडिक सर्जन प्रा.डा. दिनेश काफ्लेलाई अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । अहिले जुम्लामा रहेका केसीले त्यहीबाट विज्ञप्ति सार्वजनिक गर्दै परिषद्को निर्णयप्रति आपत्ति जनाएका हुन् । उनले यो नियुक्ति स्वीकार्य हुन नसक्ने बताएका छन् ।
‘त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता भर्ती गरिएको समाचार आएको छ । सो नियुक्ति हामीलाई कुनै हालतमा स्वीकार्य छैन’, केसीको विज्ञप्तिमा भनिएको छ, ‘यस अगाडिको डिन नियुक्ति नै स्थापित वरिष्ठताको आधार भत्काएर गरिएकाले सो नियुक्ति सच्याउँदै बाँकी सबै पदको नियुक्ति वरिष्ठताका आधारमा गर्न हामीले बारम्बार माग राख्दै आएका थियौं । यसरी सबै पदमा पार्टी कार्यकर्ताहरु भर्ती गर्दै जाने हो भने त्रिवि शिक्षण अस्पतालजस्तो देशकै अग्रणी स्वास्थ्य र शिक्षण संस्था धराशायी हुने निश्चित छ ।’
डा. केसीले यसरी नियुक्त भएका मानिसहरु संस्थाप्रति नभई आफूलाई नियुक्त गर्ने पार्टीप्रति वफादार हुने तथा ठेक्कापट्टाको धाँधलीबाट पार्टीलाई धनी बनाउने र संस्थालाई पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाउने बाहेक अरु काम नहुने निश्चित भएको आरोपसमेत लगाएका छन् ।