अनशनरत डा. केसीले स्वास्थ्य जाँच गर्न मानेनन्

जुम्ला : अनशनरत डा. गोविन्द केसीले धर्मशालाबाट अस्पताल ल्याएपछि कुनै पनि स्वास्थ्य जाँच गर्न मानेका छैनन् । आफ्नो इच्छाविपरीत चन्दननाथ नगरपालिका– ६ रानीचौरको मन्दिरको धर्मशालाबाट अस्पताल ल्याएकोले कुनै पनि स्वास्थ्य जाँच गर्न नमानेको उनकाे उपचारमा खटिएका चिकित्सक प्रवीणकुमार गिरीले बताए ।

अनशनरत डा. केसीलाई यथाशीघ्र सुरक्षित अस्पतालमा सार्न चिकित्सकको सुझाबको आधारमा प्रहरी शनिबार राति १०:४५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसियू कक्षमा राखिएको हो ।

चिकित्सक गिरीले भने, ‘शनिबारसम्म दिनको तीनपटक सामान्य स्वास्थ्य जाँच गर्दै आएका थियौँ । तर, अस्पताल ल्याएपछि आइतबारदेखि सबै खालको स्वास्थ्य जाँच लिन मान्नुभएको छैन ।’ प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्र, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न नसकिएको उनले बताए ।

उनका अनुसार रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा हुने सम्भावना रहन्छ ।

डा. केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डा. प्रवीणकुमार गिरीको नेतृत्वमा डा. धीरज गुरुङ, डा. अनुपमंगल समाल र सविता थापालाई खटाएको अस्पताल निर्देशक डा. मंगल रावलले बताए ।

२९ भदौदेखि अनशनरत डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस