कर्मचारीमा कोरोना देखिएपछि जुम्लाको राष्ट्रिय बाणिज्य बैक सिल

जुम्ला ः राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय जुम्लाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंक सिल गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोपछि १६ कार्तिकदेखि बैक सिल गरिएको हो ।
एक जना नगद सहायक, एक जना गार्ड र एक जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय जुम्लाका प्रवन्धक ओमबहादुर शाहीका अनुसार कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्रक ट्रसिङ गर्नका लागि बैंक सिल गरिएको हो । संक्रमित तीन जना कर्मचारी अहिले होम आइसोलेसनमा छन् ।
उनले भने ‘१८ कार्तिकमा कार्यालय स्यानिटाइजर भएपछि १९ कार्तिकदेखि बैंक सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । स्यानिटाईजर गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्य भईरहेको छ । तर स्यानिटाईजन गर्न ढिलाई भएपछि २÷३ दिन बैंक सञ्चालनमा नआउने सक्ने अवस्था रहेको छ ।’
यस अघि कृषि विकास बैंक जुम्लाका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएपछि बैंक सिल गरिएको थियो । गएको चैतयता जुम्लामा संक्रमित हुनेको संख्या तीन सय ५३ पुगेको छ । सोमबारसम्म ३८ जना सक्रिय संक्रमित रहेका छन् ।
तीन सय १५ जना निको भएर घर फर्किसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । लकडाउन भएयता भारतबाट एक हजार एक सय ७२ जना र मलेसिया, कतारलगायतका तेस्रो मुलुकबाट ३२ जना मात्रै गृह जिल्ला जुम्लामा प्रवेश गरेको प्रशासनको तथ्यांक छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस