कर्णालीमा तेस्रो पटक हिमपात ! किसान खुसी,जनजीवन कष्टकर

सागर परियार 

जुम्ला । हिमाली जिल्ला जुम्ला सहित कर्णाली उच्च हिमाली जिल्लामा लामो समय पछि विहिबार राती देखि हिमपात भएको छ । लामो समयपछि हिउँ पर्दा कर्णालीका किसान खुसि भएका छन् ।

विहिबार विहान देखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै राति देखि हिमपात हुँदा जुम्लामा चिसो बढेको छ । उक्त हिमपातले जिल्लामा तापक्रम माइनसमा झरेको छ । तेस्रो पटक भएको हिमपातले जुम्लाका किसान खुसी भएका हुन् । तर अपेक्षा गरिएको भन्दा निकै कम हिउँ परेको छ । यो भन्दा अझ धेरै हिउँ चाहिएको किसानको भनाइ छ ।

उच्च भु–भागमा बाक्लो हिउँ परेपनि गाउँबस्तीमा भने सामान्य हिउँ परेको छ । माघको तेस्रो साता बितिसक्दा सम्म हिमपात नहुँदा चिन्तीत भएका जुम्ली किसान खुसि भएको कृषि विकास कार्यालयका प्रमुख बालक राम देवकोटाले बताउनुभयो । उहाले भन्नुभयो,“अब किसानलाई थोरै भएपनि राहत मिल्ने भयो ।

नयाँ स्याउका बिरुवा रोप्ने,लेकाली बाली गौ,जौ सप्रिने आशामा किसान छन् ।” तर यति हिउँ मात्र प्रयाप्त नभएकोले अझै बाक्लो हिउँ पर्नु पर्ने किसान तारा बहादुर बोहोराको भनाई छ ।उहाले भन्नुभयो,“हिउँ नपरेकाले स्याउ उत्पादन, अन्नबाली उत्पादन घट्ने चिन्ता थियो । अब स्याउ किसान आफ्नो काममा लाग्छन् ।”

अझै उच्च भुभागहरुमा हिमपात जारी छ । भने बादल भरिएको र चिसो बढेकोले हिमपात जारी रहने सम्भावना छ । हिपपात भएपछि जुम्लामा हवाई सेवा बन्द भएको छ । छोटा तथा लामा दुरीका सवारी आंशिक रुपमा गुडेका छन् ।

चिसो अत्यधिक बढेले बालबालिका,जेष्ठनागरिकलाई घरबाहिर नआउन समेत आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्रथापाले हिमपात पुर्वतयारि अनुसार २ सय ६० जनालाई न्यानो कम्बल र जकेट वितरण र गरिसकेको र अन्य राहत उद्दारमा तयारी रहेको बताउनुभयो ।

त्यस्तै जुम्ला भन्दा हुम्ला,मुगु र डोल्पामा भने बाक्लो हिउँ परेको छ । हिउले मुगुको राराको सौन्र्दयलाई झनै बढाएको छ । अब त्यहा घुम्ने आन्तरिक पर्यटक बढ्नछन् । भने, हुम्ला जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात र दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात शुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ । हम्ला जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ ।

यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तीत बनेका कृषक विहिबारबाट हिमपात हुँदा खुसि भएको सर्केगाड गाउँपालिका वडा ६ बराइ गाउँनिवासी मान बहादुर ऐडिले बताउनुभयो ।

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका कृषक धेरै हर्षित भएका छन् । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको लिमी ,चाला र हिल्सा आवतजावतमा कठिनाई भएको छ । जुम्ला संगै कर्णालीमा यो हिमपात तेस्रो पटक हो ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस