
जुम्ला ः राजनीतिक बृत्तमा आफ्नो लोकप्रियता बढाउनका लागि नेताहरुले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार रुपियाँ पु¥याउने बेला बेला उद्घोष गरेपनि जुम्लाका लक्षित वर्गले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।
लक्षित वर्गले नेपालीको महान चाँडपर्व दसैतिहार सामाजिक सुरक्षा भत्ता प्राप्त हुने ठुला आशा गरेका थिए । त्यतिबेला पनि पाएनन् । दसैतिहार पछि ४ महिना वितिसक्दा पनि चन्दनाथ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेन । भत्ता नपाएपछि समस्या भएको अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् ।
ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले असोजमै सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने हो । तर, दोस्रो चौमासिक अर्थात ८ महिनासम्म पाएका छैनन् । जनप्रतिनिधि र कर्मचारीले आफ्नो सेवा–सुविधा समयमै लिन्छन् । हामीले पाउनुपर्ने सुविधाका विषयमा चासो नदेखाउने गरेको उनीहरुले गुनासो गरेका छन् ।
चन्दननाथ नगरपालिका – ३ जुम्लाका ७६ वर्षीय दुर्गबहादुर खत्रीका अनुसार मासिक रुपमा सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने हो । तर ८ महिनासम्म सामाजिक सुरक्षा भत्ता दिएको छैन । दशैतिहार जस्तो महान चाँडपर्वमा भत्ता खाउला भन्दा भन्दै कोही बुढाबुढी निधन भइसक्यो उनले भने तर वितरण गरिएन ।
चन्दननाथ नगरपालिका सामाजिक सुरक्षा शाखा प्रमुख राजेन्द्र भण्डारीका अनुसार मन्त्रालयबाटै सामाजिक सुरक्षा भत्ताको रकम अपुग आएकोले ढिलो भएको हो । मन्त्रालयमा रकम माग गरेका छौँ उनले भने अब छिट्टै ८ महिनाको सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने तयारी गरेका छौँ ।
चन्दननाथ नगरपालिकामा ७ सय २० जना ज्येष्ठ नागरिक छन् । एकल महिला ३ सय ४५, बालबालिका १ हजार ३ सय ७३ जना र अपाङ्गता भएका व्यक्ति १ सय ६६ जना छन् ।
६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महिनामा २ हजार रुपियाँ भत्ता तथा ७० वर्ष माथिकालाई २ हजार रुपियाँ भत्तासँगै १ हजार रुपियाँ उपचार खर्च दिने व्यवस्था छ । त्यस्तै, एकल महिलालाई महिनामा २ हजार रुपियाँ र बालबालिकालाई प्रतिमहिना ४ सय रुपियाँ दिने गरिएको छ ।