जुम्लामा बैशाख १५ देखि शैक्षिक संस्था बन्द गरिने

सागर परियार ।
जुम्लामा बैशाख १५ गते अर्थात बुधबार देखि विद्यालय, कलेज, टयूसन सेन्टर बन्द हुने भएका छन् । छिमेकी जिल्ला संगै जुम्लामा पनि कोराना संक्रमणको दर बढ्न थालेपछि केन्द्रको निर्देशन अनुसार जुम्लामा यही बैशाख १५ देखि विद्यालय बन्द गर्ने निर्णय भएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण हुन नदिनको लागि बैशाख १५ देखि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले बताए ।

उनका अनुसार आजको बैठकले अर्को निर्णय नभए सम्मका लागि विद्यालय बन्द गर्ने,तीन दिन भित्र जुम्लाका आठै स्थानीय तहले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका रणनीति बनाएर पेश गर्ने र जनस्वास्थ्य कार्यालयको अगुवाईमा सिमाक्षेत्र नाग्मबजार र जुम्ला विमानस्थलमा हेल्थडेस्क स्थापना गर्ने लगायतका निर्णय भएका छन् ।

विपद व्यवस्थापन समितिको बैठक अनुसार बैशाख १५ गतेदेखि अर्को निर्णय नभए सम्मका लागि विद्यालय बन्द गर्ने निर्णयको पत्रकार मंगलबार साँझनै जुम्लाका १ सय ७० वटै विद्यालयमा पत्राचार गरिने प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

यसैगरी गाउँपालिका भित्र संकलन भएको लगत जानकारी गराउनको लागि हरेक गाउँपालिकामा सम्पर्क ब्यक्ति तोक्ने समेत निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइले जानकारी दिए ।

कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले नगरपालिका,गाउँपालिकामा सभा,समारोह, भेला, गोष्ठी गर्दा बढिमा १५ जना जम्मा गर्न पाउन निर्णय गरेको छ । त्यस्तो कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पुणरुपमा पालना गर्नुपर्र्ने, घटना घटिसकेको अवस्थामा चाहिने सामाग्री सहयोगका लागि सरकारी तथा गैरसकारी निकाय संग आर्थिक सहयोग माग्ने समेत निर्णय भएको छ ।

हरेक गाउँपालिकाले कोभिड १९ नियन्त्रण सम्बन्धि रणनीतिक योजना बनाउनु पर्ने र तीन दिन पछि बस्ने संकट व्यवस्थापन समितिको बैठकमा पेश गर्नु पर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

पछिल्लो जुम्लामा ९ जना संक्रमित भेटिएका छन । अस्पतालमा उपचारमा आएका बिरामीको पिसिआर परिक्षण गर्दा ९ जना संक्रमित भेटिएका छन । उनीहरुको आइसोलेसनमा उपचार भइराखेको छ । यता जिल्ला प्रहरी कार्यालयले भने, कोरोना रोकथाम तथा नियन्त्रणका लागि माईकिङ गर्ने, मास्क वितरण गर्ने लगायतका कार्यक्रम गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस