कोरोना संक्रमितको त्रिपालमुनि बाँस ः नत रेखदेख नत स्वास्थ्य उपचार

 


जुम्ला ः सिंजा गाउँपालिका – २ घोडेङ्गा गाउँका नेकपा (विव्लव) नेता चन्द्रविर तिरुवा (रविकिरण) कोभिड संक्रमित विरामी हुन् । उनलाई लक्षणसहितको कोरोना संक्रमण देखिएको ८÷९ दिन जति भयो । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनलाई ज्वरो आउने, खोकी लाग्ने जीउ दुख्ने जस्ता संक्रमणका लक्षण देखिएका छन् ।
बैशाखको तेस्रो साता यतिबेला जुम्लामा बर्षात भइरहेको छ । नियमित बर्षाले चिसो बढी रहेको छ । बैशाख महिनामा गर्मी बढेर तातो हुनु पर्ने हो । तर नियमित बर्षातले चिसो मौसममा कोरोना संक्रमित त्रिपालमुनिको बास भइरहेको छ ।


होम आइसोलसनका नाममा त्रिपाल मुनिको बास भएको हो । यहाँका थोरै कोठा, साना कोठा भएका घर छन् । होम आइसोलेसन बनाउने जस्ता घर छैनन् । घरभित्र बस्दा अरु घरपरिवारलाई संक्रमण सर्ने डरले घर नजिकै जंगलको छेउमा त्रिपाल टाँगेर बसी रहेका छन् ।
कोरोना संक्रमत चन्द्रविर तिरुवा भन्छन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा लक्षणसहितको कोरोना संक्रमण देखिएकोले अस्पतालकै आइसोलेनमा चिकित्सकको रेखदेखमा बस्ने इच्छा हुदा पनि बस्ने वातावरण भएन ।
अहिले अस्पताल र चिकित्सकको कैयौँ दुरी टाढा जंगलको छेउमा त्रिपालमुनि मेरो बास भईरहेको छ । स्वास्थ्यमा केही समस्या आइहाले पनि तत्काल उद्धार गर्न सकिने अवस्था छैन । उनले भने ‘अहिले भगवान भरोसामा बचेको छु । मुखमा लगाउन माक्स पनि पाइएको छैन । प्रयोग गरेर फाल्ने सर्जिकल माक्स पुनः धोएर प्रयोग गर्नुपर्ने बाध्यता छ ।’ राज्यले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अरबौँ बजेट खर्च गरेको छ । तर जनताले माक्स समेत नपाएको उनले तर्क गरे । सुरु सुरुमा निकै स्वास्थ्य गाह्रो अवस्थामा थियो । तर अहिले केही सुधार हुदै पनि आएको छ ।
जुम्लामा अहिले कोरोना संक्रमितको संख्या ६६ जना पुगेको छ । यस मध्ये सिंजा गाउँपालिका भित्रका तीन जनामा संक्रमण देखिएको हो । सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक नरबहादुर रोकायाका अनुसार लक्षणसहितका कोभिडका विरामीलाई अस्पतालको फिवर वेडमा राख्नु पर्ने हो । तर घरमै पठाउने कुरा भयो । उनले भने घरमा कोभिडका विरामीलाई बस्ने सहज वातावरण हुदैन । स्थानीय स्तरमा सामान्य स्वास्थ्य परामर्श दिन बाहेक अरु स्वास्थ्यका विकल्प छैनन् ।
स्थानीय स्तरका स्वास्थ्यकर्मी पनि जोखिममा छन् । दोस्रो लहरको संक्रमण संक्रमण फैलिएपछि स्वास्थ्य सामग्रीको अभाव रहेको उनले बताए । उनले भने संघ, प्रदेश र स्थानीय सरकार कुनैबाट पनि माक्स, स्यानिटाइजर, पिपिई जस्ता स्वास्थ्य सामग्री उपलव्ध भएका छैनन् । स्वास्थ्यकर्मी आफैले किनेर स्वास्थ्य सामग्री प्रयोग गरिरहेका छन् ।


लक्षणसहित कोरोना संक्रमण भएका विरामीलाई अस्पतालकै आइसोलेसनमा राख्नु पर्ने हो । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल भने यस्ता विरामी नराखी जिल्लाबाहिर चिकित्सक पठाउने र जिल्लाबाहिरका विरामी ल्याउन उपचार गर्ने गरेको छ ।
यसमा त पहिला जिल्ला भित्रकै विरामीले प्रथामिकता पाउनु पर्ने हो । तर त्यसो देखिएन । अझै पनि यहाँका संक्रमितको उपचार व्यवस्थापनमा हामी संबेदनशिल छौँ । अक्सिजन सिलिण्डर खरिद प्रक्रियामा छौँ ।
कोरोना संक्रमतिको स्वास्थ्यमा समस्या आएको खण्डमा तुरुन्त उद्धार गरी सुविधायुक्त अस्पतालमा पुर्याउने तयारीमा जुटेको उनले बताए । स्थानीय तहमै अस्थायी कोभिड अस्पताल पनि बनाएका छौँ उनले भने अक्सिजन र चिकित्सक नभएकाले समस्यामा परेका छौँ । पटक पटक विज्ञापन गर्दा पनि चिकित्सक पाउन सकेनौँ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक डा. राजीव शाहका अनुसार राज्यको पोटोकल अनुसार अक्सिजन, भेण्टिलेर अवश्यक पर्ने कोभिड विरामीलाई मात्रै अस्पतालमा राख्ने व्यवस्था रहेको छ । उनले भने अन्य सामान्य कोभिड विरामीलाई स्थानीय स्तरकै आइसोलेसनमा राख्नु पर्ने व्यवस्था रहेको छ । देशभर कोरोना संक्रमण चुलिदै गएकोले यहाँका चिकित्सक अनेत्र जिल्लामा पठाउनु परेको हो । बाहिर जिल्लाका विरामीको उपचार गर्नु परेको हो ।

अधिकारकर्मीको अनुगमन
राष्ट्यि मानवअधिकार आयोग जुम्ला र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको एक संयूक्त टोलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अवस्थाका विषयमा स्थलगत अध्ययन गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा जिम्मेवार प्राप्त सरोकारवाला निकायसँग प्रत्यक्ष भेटघाट र अवस्था अवलोकलन गरी स्थलगत अनुगमन गरेको हो । यस्तै भौतिक दुरी कायम गरी सिंजामा त्रिपालमुनि बसेका कोभिड संक्रमितको स्थलगत अनुगमन समेत गरेको छ ।
पत्रकार महासंघ शाखा जुम्लाका नेत्रबहादुर शाहीले कोरोना संक्रमण तथा नियन्त्रणमा राज्यको तयारी पुगेको देखिदैन । निम्नस्तरको तयारीले संक्रमण फैलिने अवस्था देखिन्छ । राज्यका निम्मेवार निकाय र नागरिक दुवै सचेत, सजक हुन अवश्यक देखिएको उनले बताए ।
राष्ट्यि मानवअधिकार आयोग जुम्लाका मानवअधिकार अधिकृत किरण बरानका अनुुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी अझै पुगेको छैन । उनले भने ‘सर्वसाधनरण भन्दा पनि स्वास्थ्यकर्मी पनि सुरक्षित छैनन् । स्वास्थ्य साम्रगी प्राप्त छैनन् । देशभर संक्रमणको भयाभयस्थिति भईसेक्यो । तर यहाँका सरोकारवाला निकाय स्वास्थ्य सामग्री खरिद प्रक्रियामै छन् । यस्तो खालको गतिविधिले गर्दा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा चुनौती देखिएको छ ।’ कोरोना संक्रमतको अवस्था स्थलगत अनुगमन पनि गरौँ ।
संक्रमतिले स्वास्थ्य सुरक्षाका सामग्री पाउन सकेका छैनन् । संक्रमतिको त्रिपालमुनि बास छ । त्यहाँ चिकित्सकको निगरानी पनि देखिदैन । उनले भने स्वास्थ्यमा समस्या आए तत्कालन उद्धान गर्न पनि कठिनाई हुने अवस्था रहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस