
जुम्ला ः जुम्लाको सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले गाउँपालिकाको गाडी कोरोना संक्रमित बोक्न प्रयोग गर्ने भएका छन् । कोरोना संकटका बेला संक्रमित ओसार पसार गर्न आफु चढ्ने गाउँपालिकाको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएका हुन् ।
उनले भने, ‘गाउँपालिकामा एक एम्बुलेन्स छ । एम्बुलेन्सले दुई महिना देखि संक्रमित बिरामी ओसारपसार गरिरहेको छ । गाउँपालिकाले कोभिड बिरामी बोक्नको लागि एउटा अर्को गाडी पनि व्यवस्थापन गरेको छ । उनले भने, ‘संक्रमितको संख्या हेरेर गाउँपालिकाको गाडी पनि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने तयारीमा छौँ ।’
सिँजा गाउँपालिकाले तीन वटै गाडी तयारी अवस्थामा राखेको छ । संकटको बेला हामीलाई गाडी चाहिदैन् । जनताको भरपुर सेवा गर्न सके मात्र पुण्य कमाउन सकिन्छ, अध्यक्ष रावलले भने, ‘संकटको समयमा जनताको सेवा गर्नु स्थानीय सरकारको कर्तव्य र जिम्मेवारी हो । जनता बाँचे हामी बाच्छौँ । जनता नरहे हामी पनि रहदैनौँ ।’
गाउँपालिका भित्रका संक्रमित तीन वटै गाडीले बोक्ने छन् । कोरोना जाँच गराउन जाने आउने कामका लागि गाडी प्रयोग भइराखेका छन् । हामी मोटरसाइकलमा जाउला, हिडौँला केही भएन, अध्यक्ष रावलले भने, ‘संक्रमितलाई दिने सबै सेवा उपलब्ध गर्छौँ । संकटका बेला हामीलाई गाडी किन चाहियो । जनता भन्दा ठुलो हामी होइनौँ । जनताको जीउधनको सुरक्षा गर्नु सरकारको दायित्व हो । यो दायित्व पुरा गर्न कुनै कसुर बाँकी राख्नेछैनौँ ।’
जुम्लाको हिमा गाउँपालिका बाहेकका सबै स्थानीय तहका गाडी किनिएका छन् । यहाँका स्थानीय तह मध्ये सिँजा गाउँपालिकाले सबै गाडी कोरोना संक्रमितका लागि प्रयोग गर्ने घोषणा गरेको हो ।
एक साता अघि जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एम्बुलेन्स भाडामा लिने निर्णय गरेको थियो । एम्बुलेन्स भाडामा लिनको लागि तीन दिन भित्र हरेक स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिको खातामा एक एक लाख रुपैया जम्मा गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
तीन दिन सम्म रकम जम्मा हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमितले सम्बन्धित स्थानीय तहमा आउजाउका लागि स्थानीय तहमा सम्पर्क राख्न आग्रह गरेको थियो । त्यही शिलशिलामा सिजा गाउँपालिकाले कोरोना संक्रमितका लागि भन्दै तीन वटा गाडी तयारी अवस्थामा राखेको हो ।
गाउँपालिका अध्यक्ष रावलले आफुले चढ्दै आएको गाडी समेत कोरोना संक्रमित ओसारपसारको लागि प्रयोग गर्ने भएपनि स्थानीय उत्साहित छन् । गाउँपालिका गाडीले निशुल्क बिरामी ओसारपसार गर्ने छन् ।