मानदत्त रावल, जुम्ला : तातोपानी गाउँपालिका – २ की २४ वर्षीया कालिका डाँगीले विवाह गरेको १० वर्ष भयो । साथीको लहलहैमा लागेर उनले १४ वर्षको कलिलै उमेरमा भागी बिवाह गरेकी हुन् । अहिले उनी तीन सन्तानकी आमा बनेकी छन् । बिवाह गरेको दुई वर्षमै उनले पहिलो सन्तान छोरी जन्माइन् ।
अहिले कालिकासँग आठ, पाँच र एक वर्षकी छोरी छन् । २४ वर्षमै तीन सन्तानको आमा बनेकी कालिकाको बिहेपछि पढाइ त रोकियो नै, स्वाथ्यमासमेत असर पुगेको छ । उनी भन्छिन्, ‘सानैमा बिहे गरेर बन्धनमा परियो, अहिले पीडाले थलिएकी छु । त्यसैमा तीन÷तीन वटी छोरी हुर्काउनु पर्ने बाध्यता छ ।’ तीन सन्तानले मात्र पुगेको छैन, छोरा जन्माउनैपर्ने पारिवारिक दबाब उनीमाथि छ । जसका कारण उनको मानसिक अवस्था कमजोर बन्दै गएको छ ।
‘हामी महिलाले सधैं अर्काकै चाहाना पूरा गर्नुपर्ने ? मर्न लागे पनि कसैलाई वास्ता छैन । जिन्दगी मेरालागि बोझ भइसक्यो’, उनले दुखेसो पोखिन् । बिहेपछि कालिकाका पति कृष्ण डाँगीको पढाइमा पनि पूर्णविराम लाग्यो । उनलाई बालबच्चा हुर्काउनै समस्या छ । पति पाटनमा भेडा चराउने गर्छन् । कालिकालाई तीन छोरी लिएर घर धान्न मुस्किल छ ।
विहेबारी २० वर्ष पारी भन्ने सरकारी नारा नारामै सिमित रहेको छ । यहाँ केही समय पहिले गर्भावस्थामै एक अर्काेलाई विवाहका छोराछोरी दिने र लिने चलन थियो । तर त्यो अवस्था अहिले छैन ।
यसपछि सानैमा पुण्र्य कमाउन नाममा आमा बाबुले छोरीको विवाह गरी चलन आयो । अहिले यो अवस्थाको पनि कमी आएको छ । अहिले सहर बजार भन्दा पनि गाउँभरमा आमा बाबुको सहमति विनै मेलापात, विद्यालय गएको समयमा भागेर गई बालविवाह गर्ने चलन छ ।
२०६८ को जनगणना अनुसार जिल्लाको कुल जनसंख्या १ लाख १८ हजारमध्ये ५५ हजार ४ सय ४२ बालबालिका छन् । ति बालबालिका मध्ये जुम्लामा ६९ प्रतिशत बालबालिकाले बालबिवाह गर्ने गरेको पाइएको छ ।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतको तथ्यांक अनुसार कर्णाली प्रदेशको सबैभन्दा कम डोल्पामा ४९ प्रतिशत र सबैभन्दा बढि रुकुम पश्चिममा ७१ प्रतिशत बालविवाह हुने गरेको छ ।
हुम्लामा ५२ प्रतिशत, मुगुमा ५७ प्रतिशत, कालिकोटमा ५९ प्रतिशत, जाजरकोटमा ६५ प्रतिशत, सुर्खेतमा ६८ प्रतिशत, सल्यानमा ६९ प्रतिशत र दैलेखमा ७० प्रतिशत बालविवाह हुने गरेको उक्त अवसरमा जानकारी दिइएको छ ।
यसैगरी कर्णाली प्रदेशका १० जिल्लामध्ये मानव विकास सुचांकका आधारमा चौथो स्थानमा रहेको जुम्लामा बालविवाहकै कारण १९ वर्ष मुनिका ३३ प्रतिशत बालिका गर्भवति हुने गरेका छन् । यसले बालिकाको स्वास्थ्य र शिक्षामा मुख्य असर पार्नुका साथै कतिपय बालिकाको गर्भावस्थामै मृत्यु हुने गरेको छ । यसरी किशोरी उमेरका आमा बन्नेको संख्या सहरभन्दा ग्रामीण क्षेत्रमा बढी छ ।
किशोर उमेरमै आमा बन्नुपर्दा अधिकांशको ज्यान जोखिममा पर्ने गरेको छ । आमा र बच्चा दुवैलाई विभिन्न खालका स्वास्थ्यमा समस्या देखिने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र यहाँका ग्रामिण भेगको ब्रथिङ सेन्टरमा (प्रसुति गृह) सुत्केरी गराउन आउनेमा अधिकांश २०–३४ वर्ष उमेर समुहका आउने गरेका छन् ।
बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि हुँदा किशोरी आमामा स्वास्थ्यसँगै मानसिक समस्यासमेत बढ्दो रहेको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताए । ‘कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा छ,’ उनले भने, ‘कम उमेरमा आमा बन्दा उनीहरूमा विभिन्न खालका स्वास्थ्य समस्या देखिएको छ भने अर्कातिर सोही कारणले उनीहरू घरेलु हिंसामा समेत पर्ने गरेका छन् ।’ किशोरी आमाको शारीरिक अपरिपक्वता हुनुका साथै मानसिक तथा सामाजिक रूपले पनि अवस्था कमजोर हुने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकी स्त्री रोग विशेषज्ञ डा. सुवि बस्नेतले बताइन् ।
कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारण रहेको स्वास्थ्यकर्मीको बुझाइ छ । परिवार नियोजनका अस्थायी साधनबारे राम्रो जानकारी नहुँदा पनि किशोरीले कम उमेरमै बच्चा जन्माउने गरेका छन् ।
बालविवाहका कारण अन्य पारिवारिक जिम्मेवारी बढ्ने, स्वतन्त्रताको कमी हुनेजस्ता कारणले गर्दा यस्ता किशोरीमा मानसिक समस्यासमेत देखिने गरेको हो । बालविवाह अन्त्यका लागि जनचेतनाको आवश्यकता रहेको स्वास्थ्यकर्मी हिमाली खत्रीको भनाइ छ । कम उमेरमा विवाह हुँदा महिलाको पाठेघर खस्ने, अस्वस्थ बच्चा जन्मने, पारिवारिक बोझले शिक्षा पूरा गर्न नपाउनेजस्ता विविध कुराले वृत्तिविकासको ढोका बन्द हुने उनले बताइान् । बालविवाहले शैक्षिक रूपमा पनि महिला निकै पछि परेको खत्रीको तर्क छ ।
जुम्लाका गर्भवती महिलालाई सुत्केरी गराउन अहिलेसम्म हेलिकोप्टरबाट आपतकालीन उद्धार गर्नु नपरेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । ‘जुम्लाका विभिन्न स्थानमा बर्थिङ सेन्टर भएका र रिफर गर्नुपर्ने स्थान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक भएकाले पनि यो समस्या नआएको हो,’ उनले भने ।
जुम्लाका चौधबिस भेग, सिन्जा भेग, पानसय भेग सडक सञ्जालमा जोडिएका छन् । सिन्जा, पातारासी गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । सडक सञ्जालले जोडिएको र एम्बुलेन्स सेवा भएकाले समयमा गर्भवती महिलालाई प्रतिष्ठानमा ल्याउने गरिएको उनले बताए ।
जिल्लाको सबैभन्दा बढी बालविवाह हुने गरेको पातारासी गाउँपालिकाले बालविवाहविरूद्धको अभियान सञ्चालन गरेको छ । बालविवाह रोक्न तथा छोराछोरीबीचको असमानता हटाउन गाउँपालिकाले अस्पतालमा छोरी जन्मे प्रोत्साहन भत्तास्वरूप तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।
गाउँँघरमा बालविवाह धेरै हुने गरेपनि जिल्ला प्रहरी कार्यालय जुम्लामा बालविवाह उजुरी निकै कम आउने गरेका छन् । १३ चैत ०७५ सालमा तिला गाउँपालिका–३ की एक बालिकालाई चन्दननाथ नगरपालिका १० बस्ने दीपक कामीले ललाईफकाई भगाएर बालविवाह गरेको उजरी प्रहरीमा परेको थियो ।
बालिकालाई प्रलोभनमा पारेर आफ्नो घरमा ल्याएर राखेको अवस्थामा प्रहरीले दीपक कामीलाई पक्राउ गरी कारवाही गरेको थियो ।
कुनै पनि व्यक्ति बालविवाहमा संलग्न भएमा विवाह गर्ने र गराउनेमध्येका उमेर पुगेकालाई ६ महिनादेखि तीन वर्षसम्म कैद र एक हजारदेखि १० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान भएपनि बालविवाहको उजुरी प्रहरीमा नआउने गरेको प्रहरी निरीक्षक यूवन चौधरीले बताए ।
यस्तै १० वर्षमुनिका नाबालक बालिकालाई बिहे गर्न जबर्जस्ती गर्नेलाई ६ महिनादेखि एक वर्षसम्म कैद र एक हजारदेखि १० हजारसम्म जरिवाना हुन्छ भने १० देखि १४ वर्षका बालबालिकालाई विवाह गरे–गराएको रहेछ भने तीन महिनादेखि एक वर्ष कैद र पाँच हजारसम्म जरिवाना हुने प्रावधान छ ।
यस्तै १४ वर्षदेखिमाथि २० वर्षको किशोरीलाई बिहे गर्न जबर्जस्ती गर्नेलाई ६ महिनासम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन्छ । यसका साथै बालविवाह गर्ने गराउने, अभिभावक पुरोहित, लमी, जन्ती र विवाह गर्न सघाउनेलाई एक महिनासम्म कैद र एक हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
बालविवाहको चपेटामा किशोरी आमा
प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस