सागर परियार ।

चन्दननाथ नगरपालिका ९ बयालकाटिया निवासी २५ वर्षिय चालक धन गिरी एक वर्षदेखि सम्पर्क बिहिन रहेका छन् । गत वर्ष २०७७ असोज १५ गतेदेखि बेपत्ता गिरी अहिले सम्म पनि घर नफर्किएपछि परिवारको विचल्ली भएको छ । एक वर्ष पुग्न लागिसक्दा पनि श्रीमानको न सास न लास केहि नपाएपछि न्याय माग्दै उनकी श्रीमती मिना गिरी मिडियामा आएकी छन् ।
उनले भनिन,“साहु रेणु शाहीको ट्याक्टर चलाउथे । गत वर्ष असोज १५ गते सिमेन्ट सरिया लोड गरी गुठिचौर गाउँपालिकाको मणिसाँघु गएका थिए । तर आज सम्म फर्किएका छैनन् । कि सास पाउनु पर्यो, कि लास, कित न्याय पाउनु पर्यो । निमुखालाई कानुन पनि निर्दयी हुदो रहेछ ।”
मणिसाँघुबाट फर्किने क्रममा गुठिचौर गाउँपालिका ५ देपालगाउँको पुर्वी छेउमा पुग्दा देपालगाउँ बस्ने भोटे नामले चिनिने (विमल महत,दन्द बहादुर भण्डारी,सागर गिरी र विनोद गिरी) गरी ४ जनाले ट्याक्टर रोकेर हातपात तथा ढुंगामुडा गरेको आफन्तले बताएका छन् ।
त्यसपश्चात ०७८ जेठ ७ गते तातोपानी गाउँपालिका ५ श्रीनगर स्थित चौर भन्ने ठाउँमा तिला नदिको छालमा एक सडेको अवस्थामा शव भेटियो । प्रहरीले त्यो शवलाई निकाले । त्यो शवमा मासु सबै नष्ट भइसकेको थियो । हड्डी मात्र बाँकी थियो । शव नचिनिने अवस्थामा थियो । शवको लम्बाइ, चौडाइ,उचाइ र छातिको भाग हेर्दा चन्दननाथ नगरपालिका ९ का २५ बर्षिय धनगिरीको शारीरिक बनावट संग मिल्थ्यो । परिवारले आफ्नै भाइछोराको शव हो भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामा पोष्टमार्टमको लागि समेत आग्रह गरेका थिए । शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो । केही दिनपछि पोष्र्टमार्टम भयो ।
प्रहरी कार्यालयले उमेरले तपाइको मान्छे संग मेल खादैन भनेपछि परिवार संशकित भए । पोष्टमार्टमा उमेरले समस्या सिर्जना गरेपछि प्रहरीले डिएनए परिक्षण गर्न सुझाव दियो । डिएनए गर्दा कुनै फरक पर्दैन,पोष्टमार्टमको रिर्पोटले उमेरको तलमाथि देखाएपनि डिएनए को रिर्पोट सही हुन्छ,प्रहरी प्रमुखको भनाई उदृध गर्दै तुलराजले भने,“त्यसपछि विधि विधान प्रयोगशाला मार्फत डिएनए परिक्षण गरि पाउँ भनेर पत्नी मिना गिरी र छोरा तिलक गिरी को रगतका साथ जेठ १० गते जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दियौँ ।
बिडम्बना दुई महिना वित्यो । डिएनए रिर्पोट आएन । परिवार रिर्पोट कुरेर बसेका छौँ । प्रहरीले कुनै चासो दिएको छैन । उल्टै गैरजिम्मेवार तर्क गरेर फर्काउने गरिरहेको छ ।”सोमबार पत्रकार सम्मेलन गर्दै न्याय माग्न आएका आफन्तले धेरै पटक डिएएनए रिर्पोट बारे बुझ्न खोज्दा प्रहरीले रिपोर्ट नआएको भन्दै फर्काउने गरेको बताएका छन् ।
आफन्तजनले घटनाको वास्तविक प्राविधिक कुरा संग जोडिएर अनुसन्धान गर्ने विषयमा अनुसन्धानकर्ताको चासो नदेखिएको बताएका छन । हड्डी मात्रै भएको अवस्थामा भेटिएको त्यो शव बोरामा बाँधेको अवस्था बगेर आइरहेको स्थानीय बताउँछन । त्यो शवको हकदावी कसैको पनि परेको छैन । उनले भने,‘यो शवलाई बेवारिसे शवका रुपमा प्रमाणित गर्न खोजिदैछ । यो मान्य हुने छैन । छिटो भन्दा छिटो डिएनए परिक्षणको रिपोट ल्याएर दोषीलाई कारबाहि र परिवारको पीडामा मलहम लगाउनु पर्ने आफन्त भैरे गिरीले बताए ।
उनका अनुसार एक हप्ता भित्र घटनाको सत्यतथ्य प्रतिबेदन सार्वजनिक गर्न माग गरेका छन । प्रहरीबाट एक हप्ता भित्र चित्तबुझ्दो जवाफ आउन नसकेको खण्डमा उत्पन्न हुने जोखिमपुर्ण स्थितीको जवाफदेही स्वय प्रहरी नै हुनु पर्ने चेतावनी दिएका छन । दाजु भैर गिरीले तत्काल शवको बिषयमा टुंगो लगाउन र घटनाको सत्यतथ्य विवरण सार्वजनिक गरि पीडितलाई न्यायको अनुभुति गराउन आग्रह गरेका छन ।
श्रीमान मिना गिरीले भनिन,“कुटपिट गर्ने चारैजना विरुद्ध मुद्धा दायर गरेका छौ । अहिले सम्म कुनै सुनुवाई छैन् । पोष्टमार्टमको रिपोर्ट मिलेन भन्छ । डिएनए रिपोर्ट आउने टुंगो छैन् । घटनालाई किनारा लगाउन खोजिदै छ । अब मिडियाले न्याय दिलाउने आशामा छु ।”
१० वर्षको एक छोरा बाहेक कोहि साहारा छैन् । कसरी जीवन कटाउने । न सास पाईने न लास पाईने नत न्याय पाउने कसरी ढुक्कले बस्न सक्ने भन्दै श्रीमती मिना गरीले प्रक्रिया अघि बढाई दिन अपिल गर्नि ।



