जुम्लाका स्वास्थ्य संस्थालाई दाताको स्वास्थ्य सामग्री

जुम्ला ः कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा जुम्लाका स्वास्थ्य संस्थालाई १२ लाख ४९ हजार ५५४ रुपियाँ बराबरको कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

तातोपानी गाउँपालिका ५ एैरेनीस्थित अस्थायी कोभिड अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र पातारासी गाउँपालिका ६ उर्थुस्थित पटमारा स्वास्थ्य चौकीलाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

अस्थायी कोभिड अस्पताल तातोपानी गाउँपालिकालाई फोल्डिङ बेड २ वटा, फेससिट २५०, सर्जिकल मास्क ६ हजार, एन ९५ मास्क १ सय पिस, ग्लोब्स १ सय पिस, पिपिई ५० पिस, स्यानिटाइजर ५ सय मिलिमिटरको ५० वटा, एन्टिजेन किट १५०, हेभी ड्युटी ग्लोब्स १ सय पिस स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । यस्तै, भिटिएम किट १ सय, अक्सिमिटर ९ वटालगायत २ लाख ५५ हजार ३८० रुपैयाँ बराबरको १३ प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री सहयोग गरिएको परियोजना संयोजक हेमराज भट्टले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई अक्सिजन सिलिन्डर २७ वटा, फेससिट ५ सय, सर्जिकल मास्क ६ हजार, ग्लोब्स १ सय पिस, पिपिई १ सय पिस, स्यानिटाइजर ५ सय मिलिमिटरको ५० वटा, भिटिएम किट १ सयलगायत ७ लाख २८ हजार ५९ रुपैयाँ बराबरको १० प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए ।

यस्तै पातारासी गाउँपालिका ६ उर्थुस्थित पटमारा स्वास्थ्य चौकीलाई फोल्डिङ बेड २ वटा, फेससिट २५०, सर्जिकल मास्क ६ हजार, एन ९५ मास्क १ सय पिस, ग्लोब्स १ सय पिस, पिपिई ५० पिस, स्यानिटाइजर ५ सय मिलिमिटरको ७५ वटा, एन्टिजेन किट १५०, हेभी ड्युटी ग्लोब्स १ सय पिस स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । भिटिएम किट १ सय, अक्सिमिटर १० वटालगायत २ लाख ६६ हजार ११५ रुपैयाँ बराबरको १३ प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले भनिन्, ‘कोरोना महामारीको समय नागरिकको स्वास्थ्यलाई बचाउन स्वास्थ्य सामग्री सहयोगले भरथेग गर्नेछ । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुको विकल्प छैन । अनिवार्य मास्क, स्यानिटाइजर स्ता स्वास्थ्य सामग्री प्रयोग गर्नुपर्छ ।’

पछिल्लो समय कोरोना संक्रमण नभएजस्तो नागरिक बिनामास्क हिँडिरहेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुखले बताए । तर, दिनप्रतिदिन संक्रमणका कारण मान्छे मरिरहेकाले सचेत हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

जुम्लामा दोस्रो संक्रमण सुरु भएको बैशाख ८ देखि यता १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ । यस्तै जिल्ला बाहिरका जुम्ला अस्पतालमा उपचारका क्रममा ४ जना गरी १८ जनाको मृत्यु भएको हो । अहिले पनि जिल्लामा १७९ जना सक्रिय संक्रमति छन् । १ हजार ७०३ जना संक्रमति मध्ये १ हजार ५०६ जना संक्रमणमुक्त भएको प्रशासनसँग तथ्यांक रहेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस