कर्णाली संबाददाता जुम्ला ।
मुगु जिल्ला सदरमुकाम गमगढीकाे तल्लो बजारमा भिषण आगलागी भएको छ । गए राति १ बजेतिर मुगु सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भिषण आगलागी हुँदा २१ घर जलेर नष्ट भएका हुन् ।
स्थानीय ठील्ले लामाको घरमा बल्दै गरेको दियो बाट आगलागी सुरु भएको भन्ने बुझिन आएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिए ।
आगलागीमा परी १८ घर ३ वटा घुम्ती पसल खरानी भएका छन्, भने करोडौंको धनमाल, जिन्सी सामान, व्यापारीक सामान जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।आगलागी नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीयबासीको सहभागीता रहेको थियो ।
राति भएका कारण थप विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कायालय मुगुले जनाएको छ । मंगलबार राती करीब साढे १२ बजेदेखि सुरु भएको आगलागी बिहान ४ बजे मात्रै करिब ५ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
साँघुरो बाटो, काठबाट निर्मित कच्ची घरहरु एकअर्कासँग जोडिएकाले पनि क्षति धेरै भएको र मुगुमा दमकल नहुँदा आगो निभाउन समय लागेकाले पनि धेरै क्षति भएको अनुमान छ ।
यस अघि असाेज अन्तिम साता मुगुमा बस दुर्घटना भएर ३२ जनाकाे ज्यान गएकाे थियाे । त्याे घाउ सेलाउन नपाउदै मुगुबासिले दाेस्राे बज्रपात खेप्नु परेकाे छ ।