जिराभवानी गाउँपालिका ४ सुपौलीका किसान भोला दास थारू पनि चाहिएको बेला मल बिउ नपाएर सधैं समस्यामा पर्ने गरेको गुनासो गर्छन् । भारतमा ७ सय रूपैयाँमा पाइने युरिया मल नेपालमा १६ सय रूपैयाँ र डिएपी ३२ सय रूपैयाँमा किन्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । ‘किसानलाई सुविधा केही छैन,’ उनले भने, ‘गहुँमा मल चाहिन्छ, सहकारी संस्थामा छैन । मल पाउन अप्ठ्यारो छ ।’
जगरनाथपुरका उमाशंकर चौरसियालाई खेतमा काम गर्न छाडेर भाषण सुन्न जान मन लागेन । ‘गहुँमा पानी पटाउन छोडेर कार्यक्रममा गएर के गर्नु ? खेतीले पेट भरिन्छ । नेताको भाषण सुनेर गरिबलाई केही मिल्ने हैन ।’ घर नजिकै मल नपाउँदा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई पैसा खुवाएर रासायनिक मल भारतबाट ल्याउनुपर्ने अवस्था रहेको सुनाउँदै उनले भने, ‘बरु नेताहरुले किसानका अप्ठ्यारा समाधान गरिदिए हुन्थ्यो ।’
जगरनाथपुरकै मिरा चौधरी पनि नेता आउनु र जानुले किसानलाई केही फरक नपरेको बताउँछिन् । ‘खाद भए खेतबारीमा छर्न मिल्छ । ठूला नेता जिल्लामा ल्याएर के हुन्छ ?’ ठूला नेताहरुलाई जिल्लामा ल्याएर भाषण गराउनु भन्दा बरु घर नजिक सहज रुपमा मल किन्ने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने लाग्छ ।
आफ्नो खेतबाट फर्कदै गरेकी अर्की किसान खैरूल खातुनले पनि आफ्नो ३ बिघा जग्गामा हाल्ने रासायनिक मल नपाएर समस्या भोग्नु परेको बताइन् । जिल्लामा नेता ल्याउनुको साटो रासायनिक मल ल्याएर दिएको भए उत्तम हुने बताउँदै उनले भनिन्, ‘सभामा नेता आएर के गर्छन् ? हामीलाई मल दिन्छन् र ?’




