
जुम्ला– नागरिकता नहुँदा सार्वजनिक सेवाबाट नागरिक वञ्चित भएका छन् । कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ रियागाउँकी ३२ वर्षीया कमला बुढा कठायत नागरिकता नहुँदा सामाजिक सेवाबाट वञ्चित भएकी हुन् ।
उनले पातारासी गाउँपालिका वडा नम्बर ७ पटमारा माइती भई कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ रियागाउँका ३५ वर्षीय टेक बुढासँग विवाह गरेकी हुन् । पति बुढाले विवाह गरेपछि नागरिकता र विवाह दर्ता नगरी दिएको उनले बताइन् । उनले भनिन्, ‘अहिले एक छोरी र एक छोरा छन् । तर, अहिलेसम्म पतिले नागरिकता र विवाह दर्ता नगरी दिएपछि सार्वजनिक सेवाबाट वञ्चित हुनुपरेको छ ।’
नागरिकता नहुँदा अहिलेसम्म मतदाता नामावलीमा पनि नाम लेखाउन नपाएको उनको गुनासो छ । मतदाता नामावली नहुँदा अघिल्ला कुनै पनि निर्वाचनमा मताधिकारबाट पनि वञ्चित भएको उनले बताइन् । ‘नागरिकता नहुँदा बंैक खाता पनि खोल्न पाएकी छैन । अहिले ज्याला मजदुरी गरी आर्जन गरेको रकम पनि बैंक खाता नहुँदा बैंकमा राख्न पाइएन’, उनले भनिन्, ‘दुःख कष्ट गरी कमाएको पैसा आफन्तलाई राख्न दिएकी छु ।’
उनले सुरुमा नागरिकता नहुँदा कोरोनाविरुद्धको खोप लगाउन पनि पाएकी थिइनन् । पछि पत्रकार महासंघ शाखा जुम्लासँग गुनासो गरेपछि महासंघ अध्यक्ष नेत्र शाहीले सहायक प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेपछि १३ माघमा खोप लगाउन पाएकी हुन् ।
यस्तै, चन्दननाथ नगरपालिका वडा नम्बर ४ स्थित बौद्ध गुम्बामा बस्दै आएकी ८३ वर्षीया सांगे फुटीक नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकी छन् । मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा जन्मिएर २४ वर्षदेखि जुम्लामा बस्दै आएकी फुटीकले कान पनि सुन्दिनन् । उनीसँग अपांगता परिचयपत्र पनि छैन ।
उग्रेन तेघोलिङ गुम्बाका काङसर लामाले गुम्बामा वास दिएर हेरविचार गर्दै आएका छन् । ‘वृद्ध महिलाले कतै बस्ने ठाउँ नपाएपछि गुम्बामा बसालेको हुँ । उनका भाइ भए पनि हेरविचार गर्दैनन् । खानासमेत मुस्किलले खान्छिन्, कान पनि सुन्दिनन्,’ लामाले भने ।
फुटीकका दाजुभाइले नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्तासमेत नपाएको लामाको भनाइ छ । अपांगता भएका व्यक्ति तथा विपन्न नागरिकलाई सिबिएम नेपालको सहयोगमा आइएनएफ नेपाल जुम्लाले राहतस्वरूप खाद्यान्न वितरण गरेपछि फुटीकलाई केही सहज भएको छ ।
पातारासी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष बिर्खराम बुढाका अनुसार फुटिक पहिला सोही वडामा बस्दै आएकी
थिइन् । उनले भने, ‘उनको स्थायी ठेगाना मुगु हो । त्यहाँबाट बसाइँसराइ गरेकी छैनन् । बसाइँसराइको प्रमाण नभएपछि नागरिकता बनाउन समस्या भएको छ । नागरिकता बनाउन पहल गरेका छौँ । कानुनी जटिलताले नागरिकता बनाउन सकिएन । मुगुबाट नागरिकता बन्ने भए पनि वृद्ध हुँदा त्यहाँ जान सम्भव छैन ।’
पत्रकार महासंघका पदाधिकारीले नागरिकता नहुँदा खोप लगाउनबाट वञ्चित भएको पीडितसहित प्रशासनमा आएपछि खोप लगाएको र नागरिकता पनि बनाउन पहल भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । उनले भनिन्, ‘पीडित कमला बुढाको नागरिकता विवाह गरेका पति टेक बुढाबाटै बनाउने तयारी गरेका छौँ । विवाह गरेको पतिबाट सम्भव नभए माइती पक्षबाट पनि नागरिकता बनाउनेछौँ ।’



