जुम्ला । हिउँमा दुईदिन देखि फसेका नागरिकलाई हेलिकप्टरबाटै राहत सामाग्री फालेर उद्दार टोली फर्किएको छ । तातोपानी गाउँपालिका ८ को गाग्रो पाटनको एडि ओढारमा १४÷१५ जना, खोटी सल्ला ओढारमा ५÷६ र गागा्रे आढारमा रहेका ३÷४ जना गरी अनुमानित २० जना बढी नागरिकलाई राहत सामाग्री पुराएर उद्दार टोली फर्किएको हो । सेतो चिनी (खिरौला) जडिबुटि संकलन गर्न पाटनमा गएका नागरिक विहिबार देखि भएको भारी हिमपातले घर फर्किन नसकेर हिउँमा फसेका थिए ।
५५ जना हिउँमा फसेको खबरपछि कर्णाली प्रदेश सरकारको टोली राहत सामाग्री सहित आइतबार गाग्रा पाटनमा पुगेर केहि दिनलाई पुग्ने राहत सामाग्री दिएर आएको राहत वितरण गर्न पुगेका तातोपानी ८ का स्थानीय सुरत बहादुर शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“बाक्लो हिउँ जमेकोले हेलिकप्टर अवतरण हुन सकेन् । माथिबाटै राहत फाल्यौ । मलाई देखेपछि सबै चिनेका स्थानीयले तलबाटै नमस्कार समेत गरे । एडि ओढारमा बसेका १४ ÷१५ जना नागरिक सहित तीन स्थानमा बसेका झण्डै २० जना राहत लिन बाहिर देखिएका थिए । उनिहरुलाई तीन दिन सम्म पुग्ने चाउचाउ,विस्कुट,दालमोट,चिउरा र औषधी दिएका छौ । सबै कसुशल र ढुक्क रहेका छन् ।” प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईकाे पहल,कर्णाली प्रदेशका मुख्यमन्त्री र कानुन मन्त्रालयकाे समन्वय तथा ताताेपानी गाउँपालिकाकाे सहकार्यमा हिउँमा फसेका नागरिकलाई राहत वितरण र उद्दारका लागि हेलिकप्टर ल्याईएकाे ताताेपानी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए ।
पाटन भरी ३÷४ पटक हेलिकप्टर घुमाएर हेर्दा प्रत्यक्ष सबै नागरिक नभेटिएपनि धेरै ठाउँमा आगो बालेको धुवाँ आइरहेकोले सबै सुरक्षितनै रहेको अनुमान गरिएको छ । तत्काल घर फर्किने अबस्था नरहेकोले ४÷५ दिनपछि मात्रै हिउँ पग्लेपछि घर फर्किन सम्झाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले गागा्र पाटनमा ५५ जना हिउँमा फसेको भनिएपनि ३४ जना मात्रै रहेको बताईन् । उनले भनिन,“जम्मा ३६ जना रहेकोमा दुईजना शनिवारनै धर्मशाला सम्म आएकोले गर्दा ३४ जना हिउँमा फसेको आधिकारी सूचना आएको हो । प्रदेशको उद्दार टोलीले राहत दिँदा झण्डै २० जना नागरिक राहत लिन देखा परेकोले अन्य नागरिक पनि सुरक्षितनै रहेको अनुमान छ ।”
खाद्यन्न अभाव रहेको भनिएको थियो । राहत सामाग्री पुराएपछि तत्काल कुनै खतरा नरहेको सबैको अबस्था सामान्यनै रहेको बुझिएको छ ।
त्यस्तै पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको छ । पाटनमा सेतो चिनी (खिरौला) जटिबुटि संकलन कोर्न गएका तातोपानी गाउँपालिका तातोपानी ८ की महिला वर्ष ३७ की देवि शाही र तातोपानी ७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनुभयो । ।