जुम्ला । तातोपानी गाउँपालिकाले निशुल्क स्वास्थ्य बिमा गरेपछि पालिकाका अतिविपन्न नागरिक खुसी छन् । आर्थिक अभावमा स्वास्थ्य बिमाको पहुँचमा पुग्न नसकेका अति विपन्न नागरिकको पालिकाले निशुल्क स्वास्थ्य बिमा गरेर हातमा बिमा कार्ड दिएपछि विपन्न नागरिक खुसी भएका हुन् ।
सोमबार तातोपानी गाउँपालिका वडा नंं.३ लिताकोबाट बिमा कार्ड वितरण शुरु गरिएको छ । लिताकोटका ५० जना अति विपन्न नागरिकको बिमा गरी कार्ड वितरण गरिएको हो । पालिकाका अन्य वडामा बिमा गर्ने काम जारी रहेको सक्ने बित्तिकै कार्ड बितरण गरिने छ ।
जनता संग अध्यक्ष कार्यक्रम अन्तरर्गत ३ नम्बर वडाका ५० जना विपन्न नागरिकको बिमा गरी सोमबार बिमा कार्ड वितरण गरिएको तातोपानीका अध्यक्ष नवराज न्यौपानले बताए ।
उनले भने,“आर्थिक अभावले उपचार गराउन नपाएका विपन्न नागरिकको राहतका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको हो । पालिकाका ८ वटै वडाका सबै विपन्न नागरिकको बिमा गरिने छ । ३ नम्बर वडाबाट बिमा कार्ड वितरण गरेका छौ । अन्य वडामा अझै बिमा गर्ने काम जारी छ । सक्ने बित्तिकै कार्ड वितरण गरी उपचारमा राहत दिलाउँछौ ।”
वडा नम्बर ३ की स्वास्थ्य बिमा दर्ता सहयोगी रेवती रावलका अनुसार १० जना अतिविपन्न नागरिकको ३५ सय र अन्यको २ हजारका दरले पालिकाले बिमा गरिदिएको छ । फागुन १ गतेदेखिनै लागु हुने गरी बिमा कार्ड दिइएको उनको भनाई छ ।
वडा नं. ३ का लाउरी रोकाया, चैतीबुढा, धनसिंगे रावत, बिर्ष कार्की,धनसिंह रावल,बले सार्की लगायतका १० जना अति विपन्न नागरिकको तीन हजार पाँच सय रुपैया तिरेर विमा गरिदिएको छ । उनिहरुले १ लाख ५० हजार बराबको उपचार अब निशुल्क पाउने छन् । सडक मानव लाउरी रोकायाको यतिबेला प्रहरी प्रशासनको समन्वयमा कर्णाली प्रतिष्ठानमा उपचार भइरहेको छ ।
गाउँपालिकाले निशुल्क बिमा गरेर कार्ड हातमा दिएपछि खुसी छौ । तातोपानी ३ का बले सार्की भने,“बिमा गरेपछि उपचार निशुल्क हुन्छ भन्ने सुनेका मात्रै थियौ । विहान बेलुका छाक टार्ने मुस्किल हुन्छ । बिमा गर्ने स्थिती थिएन् । धेरैपटक स्वास्थ्यमा समस्या आएपनि पैसा नहुँदा उपचार गरिएन । अब बिमा भैगो ढुक्कले उपचार गराउने छ । निशुल्क विमाले हामी जस्ता विपन्नलाइ ठुलो राहत हुने छ ।”
राम्रो उपचार नपाएर मरिहाल्छु की भन्ने सोचेकी थिए । स्वास्थ्य बिमा बारे थाहा भएपनि आर्थिक नहुँदा उपचार नगरी बस्न बाध्य थिए । लिताकोटकै विर्सा कार्कीले भनिन,“पालिकाले निशुल्क स्वास्थ्य बिमा गरिदिएर कार्ड हातमा दिएपछि अब ढुक्कले उपचार गराउने आशा छ । ध्यक्ष नवराज न्यौपानले अन्तिम कार्यकालमा जनमखुी काम गरे । हामी खुसी छौ । ठुलो राहत महसुश पनि गरेका छौ ।”
प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले विपन्न नागरिकको निशुल्क विमाका लागि चालु आवमा १० लाख बिनियोजन भएको बताए । उनका अनुसार पालिकाका ८ वटै वडाका सबै विपन्न नागरिकलाई १० लाख बजेट मार्फत बिमा गराइने छ । यस्ता जनमुखी कामलाई आगामी आउने जनप्रतिनिधले पनि निरन्तरता दिनुपर्ने उनको सुझाब छ ।