जुम्लाको चन्दननाथ नगरपालिकाले सार्वजनिक जनगणना २०७८ को तथ्यांकमाथि मिथ्यांकको आशंका गर्दै पुन ः जनगणना गर्न थालेको छ । नगरपालिकाको २०६८ को जनगणना अनुसार २० हजार ८८५ जनसंख्या रहेको थियो भने २०७८ अनुसार २० हजार ९२१ रहेको छ ।
नेपालमा जनगणना १० वर्षको अन्तरालमा गर्ने गरिन्छ । १० वर्षको अन्तरालमा २०७८ को जनगणना अनुसार चन्दननाथ नगरपालिकाको जनसंख्याको अन्तर ३६ जना मात्रै रहेको जनगणनाको तथ्यांकमाथि मिथ्यांकको आशंका गरी पुन ः गणना थालिको हो । नगरपालिकाभित्र ४ हजार १६६ घरधुरी संख्या र ५ हजार ३६७ परिवार संख्या रहेको २०७८ को जनगणनामा तथ्यांक उल्लेख छ ।
चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईले सार्वजनिक जनगणनाको तथ्यांकमाथि नगरपालिकाले गम्भीर ध्यानाकर्षण गर्दै पुन ः गणना थालिएको बताए । उनले भने नगरपालिकाका ४ जना परिचालकलाई गणकको रुपमा नियुक्ति गरी गणनाको फाराम भर्न घरदैलोमा पठाउदै छौँ । नगरपालिका भित्रका आमनागरिकले उत्तरदाता भई सहयोग गर्नुहोला ।
राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसंख्यासम्बन्धी प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसंख्या १ लाख १९ हजार ३७७ छ । यसअघि ०६८ मा १ लाख ८ हजार ९२१ थियो । १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको छ ।
तर, सार्वजनिक तथ्यांकमाथि नै नागरिकले आशंका गरेका छन् । सार्वजनिक भएको जनसंख्याको तथ्यांकसम्बन्धी समाचार प्रकाशन भएपछि नागरिकले सामाजिक सन्जालमा टिप्पणी गरेका छन् ।
१ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लाका ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको छ भने सबैभन्दा कम गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ ।
गुठीचौर गाउँपालिकाको जनसंख्या १० हजार ८९१ छ । पुरुष ५ हजार ३४४ र महिला ५ हजार ५४७ जना छ । गुठीचौर गाउँपालिकाको घरधुरी संख्या २ हजार २०५ र परिवार संख्या २ हजार ४५१ रहेको जिल्ला तथ्यांक कार्यालय जुम्लाले जनाएको छ ।
यस्तै, हिमा गाउँपालिकाको जनसंख्या १२ हजार ८०४ रहेको छ, जसमा पुरुष ६ हजार ३८८ र महिला ६ हजार ४१६ जना छन् । हिमाको घरधुरी संख्या २ हजार ६२ र परिवार संख्या २ हजार १०४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसंख्या १३ हजार ६८७ छ । पुरुष ६ हजार ८०७ र महिला ६ हजार ८८० छन् । पातारासी गाउँपालिकाको जनसंख्या १६ हजार ८८१ छ, जसमा पुरुष ८ हजार ३४९ र महिला ८ हजार ५३२ छन् । पातारासीको घरधुरी संख्या ३ हजार १९१ वटा र परिवार संख्या ३ हजार ३७४ रहेको राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदनमा उल्लेख छ ।
सिंजा गाउँपालिकाको जनसंख्या १२ हजार ७५५ छ, जसमा पुरुष ६ हजार ५६१ र महिला ६ हजार १८३ छन् । सिंजामा घरधुरी संख्या २ हजार २७१ र परिवार संख्या २ हजार ४२७ रहेको छ । तातोपानी गाउँपालिकाको जनसंख्या १५ हजार ७२१ छ । पुरुष ७ हजार ७२८ र महिला ७ हजार ९९३ छन् । तातोपानीमा घरधुरी संख्या ३ हजार १९० र परिवार संख्या ३ हजार ३२१ छन् ।
तिला गाउँपालिकाको जनसंख्या १४ हजार ६९२ रहेको छ, जसमा पुरुष ७ हजार २६१ र महिला ७ हजार ४३१ छन् । घरधुरी संख्या २ हजार ५८२ र परिवार संख्या २ हजार ६६६ रहेको जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय जनगणना २०७८ का गणक नै आप्mनो घरमा नआएर परिवार संख्या गणना नगरेको टिप्पणी भइरहेका छन् । सिंजा गाउँपालिका वडा नम्बर ३ धितालिहका जयाशंकर धितालले ०७७ मा कैलालीदेखि बसाइँसराइ गरी जुम्ला आए पनि आफ्नो घरमा गणक नआएको बताए । उनले भने, ‘यस्तै धेरै नागरिकका गुनासा छन् । अहिले सार्वजनिक भएको जनसंख्याको संख्या तथ्यपरक भए÷नभएको विश्वास गर्न सकिने खालको छैन ।’
चन्दननाथ नगरपालिका वडा नम्बर २ का रुपेश तिमिल्सिनाले सार्वजनिक जनसंख्याको तथ्यांक नै गलत भएको बताए । उनले भने, ‘हाम्रो घरका तीन जना परिवार सदस्य नै जनगणनामा छुटेका छन् ।’
चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालका अनुसार हामीलाई नगरपालिकाको सार्वजनिक तथ्यांक तथ्य नभएको हो कि भन्ने लागेको छ । उनले भनिन् १० वर्षको अन्तरालको जनगणनामा ३६ जना नागरिक मात्रै बृद्धि भएको देखिन्छ । अर्काे कुरा नगरपालिकाको पनि प्रोफाईलका लागि तथ्यांक आवश्यक भएकोले पनि गणना गर्न थालिएको हो ।
त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालय उपप्राध्यापक धनकृष्ण महतले जनगणनामा कति जनसंख्या छुट्यो भन्ने अध्ययन गर्न पोष्ट गणना सर्वेक्षण गरिन्छ । उनले भने जुन जनगणना सम्पन्न भएको ३ देखि ५ महिनाभित्र गरिसक्नुपर्ने हुन्छ । यो सर्भे गर्दा ५ प्रतिशत भन्दा बढि जनसंख्या छुटेको पाइएमा केन्द्रिय तथ्यांक बिभागले सार्वजनिक गरेको प्रारम्भिक नजिता विश्वस्निय नहुने बताईन्छ । तर यदि ५ प्रतिशत भन्दा कम जनसंख्या छुटेको पाइएयो भने, त्यो तथ्यांक नै नेपालको वास्तविक जनसंख्याको विवरण हो भन्ने पुष्टि हुन्छ । पुनः गणना गर्न मिल्दैन । यो सिद्धान्त बिपरित हुन्छ । गणनामा को छुटे भन्ने आधार नहुने हुदा बेमेलको सम्भावना हुन्छ ।
जिल्ला तथ्यांक कार्यालय जुम्लाका अनुसार अहिले राष्ट्रिय जनगणना २०७८ को प्रराम्भिक प्रतिवेदनअनुसार जनसंख्याको तथ्यांक सार्वजनिक भएको हो । अहिले सार्वजनिक तथ्यांकमाथि मिथ्यांकको कुरा आएको देखिन्छ ।
सचेत नागरिकले आफ्नो घरमा गणक आए÷नआएको विषयमा त्यतिबेलै सचेत हुनुपर्ने हो । तर, अहिले मिथ्यांकको कुरा गरेर कुनै उपलब्धि नहुने तथ्यांक कार्यालय जुम्लाले जनाएको छ । एकिन तथ्यांक सार्वजनिक पछि पोष्ट जनगणना पनि हुन्छ । त्यो बेला के कति छुटेका हुन् । पुन ः जनगणनाको तथ्यांकमा समाबेश गर्न सकिने व्यवस्था रहेको छ ।