
फोटो क्याप्सन ः गाउँमै सिलाईकटाइ र खुद्रा व्यापार गरेर आम्दानी गर्दै आएकी महिलासंग छलफल गर्दै अनुगमन टोली । तस्बिरः सागर परियार ।
जुम्ला । तिला गाउँपालिका ६ तुहि गाउँकी कालिका बुढाको दैनिकि चुलोचौको गर्दैमा बित्थ्यो । गाउँमै केही व्यवसाय गर्ने आँट भएपनि कालिका संग न पुँजि थियो न सीप । उनी दैनिकी गुर्जाने विकल्पको खोजीमै हुनुहुन्थ्यो ।
ठ्याक्कै वल्र्ड भिजनको सहयोग तथा किर्डाक नेपालको साझेदारीमा सञ्चालित राइज परियोजनाबाट सिलाईकटाई सञ्चालनका लागि बुढालाई सिपसंगै पुँजि पनि दियो । तिला गाउँपालिकाको रारालिहि बजारदेखि झण्डै १० किमि टाढा दुर्गम तुहि गाउँमा कालिकाले सिलाईकटाई व्यवसाय थालेको करिब ६ महिना बित्यो ।
सिलाई कटाईबाट आम्दानी राम्रो भईरहेको बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,“व्यवसाय सञ्चालनका लागि किर्डाकले ३५ हजार बराबरको पुँजि लगानी गरेको थियो । अहिले सिलाईकटाई ब्यवसायीक बन्दै गएको छ । महिनामा १० देखि १५ हजार सम्म कमाई हुन्छ ।”
आठ जनाको परिवारको लुगाफाटो,छोराछोरी कापी कलम,नुन तेल सबै खर्च सिलाई कटाईबाटै जुटिरहेको बुढाको भनाई छ । किर्डाकको सहयोगले व्यवसाय शुरुवात संगै थप लगानी गरेर व्यवसाय अघि बढाउन उर्जा मिलेको उल्लेख गर्नुभयो ।
कालिकाले गाउँमै महिलाका पहिरन चोली,ब्लाउज,कुर्तासुरुवा,पेटिकोट सिलाँछन् । बजारको भन्दा धेरै सस्तोमा गाउँमै लुगा सिलाउने भएपछि कालिकाको टेर्लसमा दैनिक भिड हुने गरेको छ ।
बुहारीले सिलाईकटाइ शुरु गर्न थालेदेखि घरको नुन तेलदेखि लुगाफाटो फेर्न सहज भएको कालिकाकी सासू ५७ वर्षिय हिरा बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,“कमाईको स्रोत थिएन् । कृषिमै निर्भर परिवार हो । तर बुहारिले सिलाईकटाई व्यवसाय थालेपछि आर्थिक गतिविधि संग जोडिएका छौ । सहयोगी संस्था किर्डाक प्रति आभारि छौ ।”
गाउँमै व्यवसाय सञ्चालनले राहत
सामान्यतया गाउँघरमा चाड पर्व आउँदा नयाँ लुगा सिलाउने लगाउने चलन अहिले पनि कायम छ । चाहे पुर्णिमा होस्,वा दशैतिहार नयाँ वर्षमा नयाँ कपडा सिलाउने चलन छ । तर गाउँबाट रारा सेरि बजार,सदरमुकाम गएर कपडा सिलाउँदा कपडा भन्दा आउने जाने खर्च दोब्बर हुन्थ्यो ।
तिला ६ तुहिकी बाटु कामीले भन्नुभयो,“गाउँमा सिलाईकटाइ शुरु हुँदा हामी सेवा संगै राहत मिलेको छ । बजारमा साढे ३ सयमा सिलाउने कुर्ता सुरुवाल गाउँमा २ सयमै सिलाउन पाएका छौ । बजार जाने खर्च पनि बचेको छ । पैसा नभएको बेला पनि काम चल्छ । समयको बचत समयको बचत संगै सस्तोमा लुगा सिउन पाउँदा खुसि छौ ।”
गाउँमा टेर्लस संगै खुद्रा पसल सञ्चालन भएपछि राहत पाएको तुहि गाउँकी अर्कि महिला माघि कामिको भनाई छ । तुहि गाउँका झण्डै १ सय घरधुरीले उक्त सिलाईकटाई व्यवसाय तथा खुद्रा व्यापारबाट लाभान्वित भएको उहाँको भनाई छ ।
गाउँमै खुद्रा पसल संञ्चालनले एक प्याकेट तेल किन्न बजार जाँदा दुई प्याकेट तेल बराबरको खर्च गर्नुपर्ने बाध्यताबाट मुक्त भएको एक महिलाले बताउनुभयो ।
त्यसका साथै किर्डाककै सहयोगमा तुहि गाउँकी बाटु कामी,माघि कामी लगायतका महिलाले ग्रिन हाउस मार्फत तरकारी उत्पादन गरि पोषणामा सुधार र आर्थिक आम्दानी गर्दै आएको पनि पाईएको छ ।
भने किर्डाकले तिलाका तुहि,रारा गाउँ लगायतका गाउँमा राईस परियोजना मार्फत सिलाईकटाई,बाख्रा पालन,तरकारि खेती र खुद्रा व्यापार सञ्चालनका लागि सहयोग गरिरहेको छ ।

राईज परियोजना समाप्ती
साना व्यवसाय तथा रोजगारी सृजनाका माध्यमबाट आम्दानी बृद्दि (राईज) परियोजना समाप्ती भएको छ । २०२१ मार्च १ बाट शुरु भएको उक्त परियोजना कार्यवधि सकिएपछि आईतबार परियोजना कार्यक्षेत्रको अनुगमनसंगै अन्तरक्रिया गरेर समाप्ती गरिएको हो । तिलाको १ देखि ९ वडा सम्म लागु भएको परियोजनाबाट तिलाका १६२ जनाले सीप सिकेका छन् ।
३३१ जना नागरिकले गुणस्तरीय कृषि सामाग्री र बजारीकरण बारे ज्ञान प्राप्त गरेको किर्डाक नेपाल जुम्लाका फिल्ड कोडिनेटर भेष बहादुर रावलले बताउनुभयो । उहाँका अनुसार परियोजनाको कुल बजेट १ करोड ९ लाख ८४ हजार मध्य १२ लाख बाहेक सबै खर्च भईसकेको छ ।
विगत १ वर्षदेखि संचालित परियोजनाको कार्यवधि सकिएकोले अनुगमन,समीक्षा,तथा भावीदिनमा कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल गर्दै परियोजना हस्तान्तरण भएको वल्र्ड भिजनका फिल्ड कोडिनेटर रावलले जानकारी दिनुभयो ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले संस्थाले शुरुवात गरेको व्यवसाय निरन्तरताका लागि पालिकाले आबश्यक पहल गर्ने बताउनुभयो । विकास सबैको साझेदारीबाट मात्रै सम्भव छ । त्यसैले गैसस,सरकारी निकायको साझेदारीबाट समाज रुपान्तरण हुने उहाँको भनाई छ ।
वल्र्ड भिजनको सहयोग र किर्डाकको सहजीकरणमा सचेतना बृद्दि,क्षामता विकास तथा समुदायको आयस्तर बृद्दिमा ठुलो सहयोग प्राप्त भएकोमा अध्यक्ष योगीले धन्यबाद दिए । राइज परियोजनालाई पुन संचालनको लागि आग्रह समेत गर्नुभयो । परियोजनाले गाउँका महिलाको क्षामता विकास,उत्पादन बृद्दि तथा व्यवसायमैत्री बनाउन मदत पुगेको पाईएको स्याउ सुपरजोन कार्यालय प्रमुख गंगा पोखरेलले बताउनुभयो ।
संस्था,विषयगत कार्यालय र स्थानीयतहका कार्यक्रमहरु दोहोरिने समस्या रहेकोले यसमा ध्यान दिनुपर्नेमा जिसस उपप्रमुख कार्मा बुढाले बताउनुभयो । उपाध्यक्ष विष्णुमाया बुढाले अब दिएर मात्रै सम्भव नहुने भएकोले दिर्घकालिन फाईदा हुने काममा लगानी गर्नु पर्ने त्यस्तै योजना बनाउनु पर्नेमा जोड दिनुचयो । गाउँमा उत्पादित बस्तुको बजारीकरणको चुनौती भएकोले पालिकाले सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।



