जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुदैँ,४२ हजार बालबालिकालाई खाेप लगाईने

जुम्ला ।  जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुदै छ । आगामी चैत २५ देखि २०७९ को बैशाख ७ गते सम्म जुम्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने छ । जस अन्तरर्गत जुम्लाका झण्डै ४२ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने भएको छ ।

जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाका १९ महिनादेखि माथि र १५ वर्ष मुनिका ४२ हजार ४ सय २० जना बालबालिकालाई टाइफाइड विरुद्धको (टीसिभी) खोप लगाईने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

उनका अनुसार खोपबाट बचाउन सकिने रोगहरुलाई शुन्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा बढ्दो टाइफाइड रोग विरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो । पुर्ण खोपको सुश्चिता गर्न,खोप कभरेज ९५ प्रतिशत पुराउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।

उनले भने,“टाइफाइड दुषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग हो । चैत बैशाखमा धुलो धुवाँ बढ्ने,गर्मीले खानेकुरा पनि सफा नहुने भएकोल रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको हो ।”

खोपबाट कोहि बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने छ । जसमा चन्दननाथका ८ हजार ५ सय ७५,कनकासुन्दरीका ४ हजार २ सय ६०,गुठिचौैरका २ हजार ७ सय ६,तातोपानीका ५ हजार ३ सय ६८ बालबालिकालाई खोप लगाइने छ ।

त्यस्तै,तिलाका ५ हजार ९ सय ६७,पातारासीका ५ हजार ३ सय ४ सिंजाका ४ हजार ७ सय ७४ र हिमाका ५ हजार ४ सय ६६ जना गरी १५ महिनादेखि ५ वर्ष मुनीका र ५ वर्षदेखि १५ वर्षमुनीका ४२ हजार ४ सय २० जना बालिबालाई टाइफाइड विरुद्धको खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।
जुम्ला प्रदेश (ख)मा चैत २५ देखि ३० र प्रदेश (क) मा २०७९ बैशाख २ देखि ७ गते सम्म दुईचरणमा खोप अभियान सञ्चालन गरिने छ ।

चार वर्षमा ३५ सय टाइफाइडका विरामी
दुषित पानी र खानेकुराबाट फैलिने टाइफाइडका विरामी जुम्लामा बढ्दै गएको तथ्यांकले देखाएको छ । ज्वरो आउने,टाउँको दुख्ने,पेट दुख्ने,आद्रामा समस्या आउने, समयमै उपचार नगरे ज्यान समेत जाने टाइफाइड रोगबाट जोगाउन १५ महिना माथि र १५ वर्ष मुनीका सबै बालिबालिकाई अनिवार्य खोपको पहुँचका ल्याईने छ ।

सरकारको तथ्यांक अनुसार बितेको पाँच वर्षमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइडका कारण विरामी भएको पाइएको छ । भने, बितेको चार वर्षमा जुम्लाका ३५ सय बढी बालबालिका टाइफाइडका विरामी भेटिएका छन् ।

जस अन्तरर्गत जुम्लामा आ.व. २०७५÷७६ मा ९ सय ७८ जना, आ.व. २०७६÷७७ मा १ हजार १ सय ५८ जना, आ.व.२०७७÷७८ मा ८ सय ७९ जना र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी चार वर्षमा जुम्लाका ३ हजार ५ सय ९७ जना नागरिक टाइफाइडका विरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले लक्षित वर्गका ४२ हजारबढी बालबालिका अभियानबाट नछुट्ने गरी खोप अभियान सञ्चालन गर्न समेत निर्देशन दिए । सबै बालबालिका विद्यालयमै नभेटिने भएकोले खोप अभियानलाई घरदैलो केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

टाइफाइड विरुद्धको खोप अभियान प्रभावकारी बनाउन मंगलबार जुम्लामा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस