
जुम्ला : आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि राजनीतिक दलहरुले चुनाव केन्द्रीत गतिविधि तिव्ररुपमा अगाडी बढाएका छन् । चुनावलाई केन्द्र विन्दुमा राखेर जिल्ला राजनितिक दलहरुले गाउँमा आमसभादेखि मतदाता भेटघाट र घरदैलो कार्यक्रम गर्दै आएका छन् ।
स्थानीय तहको निर्वाचन केन्द्रीत गठवन्धनका जिल्ला स्तरका शिर्ष नेताहरुले छलफल गरेका छन् । सत्ता साँझेदार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका जिल्ला स्तरका शिर्ष नेताहरुले स्थानीय तहको चुनाव केन्द्रीत छलफल गरेका हुन् ।
नेपाली कांग्रेस जुम्लाका सभापति कर्ण बहादुर शाहीको संयोजकत्वमा सरकार गठवन्धन दल नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक बिरबहादुर कुवँर र नेकपा एकिकृत समाजवादी पार्टी जुम्लाका उपाध्यक्ष नन्दराम रोकाया बीच चुनाव केन्द्रीत छलफल भएको हो ।
जुम्लामा एक नगरपालिका र ७ गाउँपालिका छन् । नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखको उम्मेदवार छनौट गर्न गठवन्धनका दलहरुलाई निकै सकस पर्ने देखिएको छ । गठवन्धनभित्रका दलहरुभित्र प्रमुख उपप्रमुखका आकांक्षी धेरै देखिएकालाई उम्मेदवार छनौट सकस भएको हो ।
दलको पार्टी भित्रको आन्तरिक नेतृत्वहरुसँग बृहत छलफल गर्ने र दलहरुले आ आफ्नो स्पष्ट धारणा निर्माण गर्ने बैठकले निर्णय गरेको नेपाली काँगे्रस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायत (गोल्डेन) ले बताए । उनले भने यसका लागि थप समय आवश्यक भएकोले चैत २५ गते पुन ः बैठक बस्ने छौँ । अर्काेको बैठकमा आवश्यक विषयमा छलफल गर्ने र निर्णय गर्दै जाने पनि निर्णय भएको उनले बताए ।




