जुम्लाका ७९ मतदान स्थलका १०२ मतदान केन्द्रमा मतदान सुरु


जुम्ला ः जुम्लाका ७९ मतदान स्थलका १०२ मतदान केन्द्रमा मतदान सुरु भएको छ । विहान ७ बजेदेखि नै मतदान सुरु भएको हो । स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि ४ सय ९६ जना कर्मचारी परिचालन गरिएको छ । जिल्लाका आठ ओटा स्थानीय तहका ६० वडामा मतदान कार्य शान्तिपूर्ण वातारवरणमा जारी रहेको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताइन् ।
शान्तिपूर्ण भयसहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि जुम्लामा एक हजार ७ सय २१ सुरक्षाकर्मी खटाइएको छ । शान्ति सुरक्षा बजमुद बनाउने र निर्वाचन धाँधलीमुक्तसहित भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो ।
नेपाल प्रहरी ४ सय ३२ जना, नेपाली सेना ३ सय ५० जना, सशस्त्र प्रहरी २ सय ७० जना र म्यादी प्रहरी ६ सय ६९ जना परिचालन गरिएको डीएसपी नरेन्द्र चन्दले बताए । जुम्लाका इन्सेक लगायतका सामाजिक संघसंस्थाले स्थानीय तहको निर्वाचन परीवेक्षण गरीरहेका छन् ।
चन्दननाथ नगरपालिका ५ चन्दननाथ माविस्थित मतदान केन्द्रमा ७२५ मतमध्ये ३ सय मत खसेको मतदान अधिकृत प्रदिपकुमार सिंहले बताए । यस्तै सोही नगरपालिकाको ७ नम्बर वडामा रहेको जनता माविस्थित मतदान केन्द्र (ख) मा ७३१ मतदाता मध्ये २४५ मत खसेको मतदान अधिकृत गोविन्द महतले बताए ।
तातोपानी गाउँपालिका २ हिमशिखर मावि तातोपानीस्थित मतदान स्थलमा १ हजार १०३ मत मध्ये ५०४ मत खसेको स्थानीय सागर परियारले बताए । सोही गाउँपालिका ५ दुर्गा मावि ऐरेनीस्थित मतदान स्थलमा १ हजार ६ मत मध्ये ३ सय मत खसेको स्थानीय पूर्णप्रसाद चौलागाईले बताए ।
कनकासुन्दरी गाउँपालिका ५ लुड्कु गाउँस्थित कनकासुन्दरी मावि मावि मतदान स्थलमा ९०२ मतदातामध्ये ३६० मत खसेको स्थानीय प्रकाश उपाध्यायले बताए
स्थानीय तह निर्वाचन–२०७४ मा ५४ हजार ६ सय ९४ मतदाता रहेकोमा ४३ हजार ९ सय २६ मत खसेकोमा ३ हजार ५ सय ४७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । यस पटकको निर्वाचनमा जिल्लाका ८ स्थानीय तहका ६० वडामा ६७ हजार ७ सय ४४ मतदाताले मतदान गर्न पाउने छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस