जुम्लामा खेलकुदकै माध्यमबाट महिला शसक्तिकरणमा जोड

जुम्ला । खेलकुदका माध्यमबाट जुम्लाका महिलाको शक्तिकरणमा जोड दिन राष्ट्पति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रम गरिएको छ । जसमा जुम्लाभरीका ५० जना महिला सहभागी छन् ।

क्षामता तथा नेतृत्व विकासका साथै महिला प्रति समाजको भ्रमलाई चिर्न खेलकुदलाई माध्यमबाट महिला सशक्तिकरणमा जोड दिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख बरम बहादुर महतले बताउनुभयो ।

उहाँले भन्नुभयो,“महिला भएकै कारण गरिने विभेदबाट खेल क्षेत्र पनि अछुतो छैन् । महिलामैत्री ठुलो खेलको आयोजना पनि भएको देखिन्न । त्यसैले जिल्लाका आठै पालिकाका ५० भन्दा बढी महिला किशोरीको सहभागितामा पहिलो पटक महिला केन्द्रित भलिबल,कराते,तकान्दो,रग्बी र कबडी लगायतका खेलको आयोजना गरिएको हो ।”

६ जना प्रशिक्षकले महिलालाई प्रशिक्षण दिने भएका छन् । खेलको माध्यमबाट महिला सशक्तिकरणमा जोड दिने राष्ट्रपति कार्यक्रमको अभियान हो । यस्ता कार्यक्रमले खेल क्षेत्रमा महिलाको सहभागिता बढाउने भएको विद्यालय स्तर सम्म पुराउन समेत सरोकारवालाले जोड दिएका छन् ।

महिलाले फुटबल,भलिबल,बक्सीङ,कराते,जस्ता खेल खेल्नु हुन्न,शारिरिक बनावटले असहज हुन्छ भन्ने साँघुरो सोचाई अहिले पनि जुम्लाका ग्रामिण बस्तीमा विद्यमान छ । अझ भविष्यमा बाँझोपन हुन्छ, शरिर कच्चा बन्छ भनेर महिलालाई दौडिनु समेत हुन्न भन्ने जस्ता गलत मानसिकता समाजमा कायमै देखिन्छ । जसले गर्दा आँट क्षामता भएर पनि अबसर नपाउँदा थुप्रै महिलाहरु गुम्सीएर बस्न बाध्य छन् ।

तर पातारासीकी धावक सुनमाया बुढाले समाजको भ्रमलाई चिर्दै दौडिएरै विश्वमा नेपाललाई चिनाउन सफल हुनु भएको छ । महिलाले दौडिनु हुन्न, भविष्यमा समस्या हुन्छ भनेर घरपरिवार गाउँ समाजले रोक्न खोजेपनि सुनमायाले वास्ता गर्नुभएन् । जसका कारणले सुनमायाले दौड जितेर दर्जनौ राष्ट्यि अन्तराष्ट्यि पुरस्कार पाएकी छन् । अहिले उनी आम महिलाकी प्रेरणा समेत बन्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले महिलाको क्षामता विकासका लागि महिला केन्द्रित खेलकुद प्रतियोगिता जस्ता अन्य कार्यक्रमको पनि आयोजना गरिनुपर्ने बताउनुभयो । महिलाका महिला अबसर नपाएर पछि परेकोले महिला केन्द्रित कार्यक्रममा जोड दिनु पर्ने उहाँको भनाई छ ।

एन्फाका केन्द्रिय सदस्य भरत बहादुर बुढ्थापाले यस कार्यक्रमले महिला सशक्तिकरणको सन्देश दिएको बताउनुभयो । जुम्लाको परिपेक्षमा सबै क्षेत्रमा महिलालाई पछाडी पारिएकोले खेकुदका माध्यबाट महिलालाई अग्रपन्तीमा ल्याउन महत पुग्ने विश्वास व्यक्त गर्नुभयो । १ सय ५० महिला सहभागी गराउने लक्ष्य भएपनि मौसम प्रतिकुलताका कारण ५० जना महिला सहभागी भएका छन् ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस