जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिही स्थित भित्री खोला लघु जलविद्युत आयोजनाको विद्युत गृह भासिँएर भत्कीदाँ एकै घरका तीन जनाको मृत्यु भएको छ । विहिबार राति करिब साढे २ वजे आयोजनाको विद्युत गृह भासिँदा एकै घरका आमा २ दुई छोरा सहित तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा आमा ३० वर्षीय बिमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भुवन भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“उक्त विद्युत गृहका चौकीदार बिमलाका श्रीमान गोरख बहादुर रावत हुन् । श्रीमान गाउँको काममा जाँदा कहिले काँही श्रीमतीले ड्युटी गर्दै आउनु भएको थियो । विहिबार राती विद्युत गृहमा २ छोरा आमा सुतिरहेकै अबस्थामा विद्युत गृहमा भासिँएपछि घटनास्थलमै मृत्यु भएको हो ।”
घटना स्थल तर्फ जिल्ला प्रहरी कार्यालयको टोली गएको छ । शबको पोष्र्ट मार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

यसरी भयो घटना…..
विहिबार गोरख बहादुर रावत कार्यव्यवस्थताले विद्युत गृहको ड्युटिमा जानु भएन् । श्रीमान बेस्थ भएपछि श्रीमती बिमला रावत २ छोरा सहित विद्युत गृहको ड्युटिमा जानु भएको थियो ।
राती २ बजेतिर एक्कासी बत्ती गयो । विद्युत गृह भित्र आमा बिमला सहित २ छोरा मस्तले निदाई रहेका थिए । त्यहि क्रममा बत्ती किन गयो भनेर श्रीमान गोरख पावर हाउसमा पुग्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्ट भन्छन,“रातभर भएको अविरल वर्षाले नहर बुझिँदा बत्ती गएको थाहा पाएपछि गोरखले बुझिएको नहर खोले । थुनिएको पानी जाँदा आसपासका खेतका आली सहित भत्काएर लिएको रहेछ । त्यसबेला सम्म पनि गोरखका श्रीमती दुई छोरा निदाई रहेका थिए । ठुलो बेगमा गएको पानीले विद्युतगृहनै भाँसिए भत्कीएपछि घटना स्थलमै श्रीमती सहित २ छोराको मृत्यु भएको कुरा गोरखले नै प्रहरीलाई जानकारी दिनु भएको हो ।”
त्यस पश्चात प्रहरी चौकी बड्किका प्रमुख रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी राती नै घटनास्थलमा पुगेको थियो । विद्युत गृहका चौकीदार रावतले आम नागरिकलाई उज्यालो दिन थुनिएको नहर खोल्दा आफ्नै जीवन अध्यारो बनाउन पुगे ।



