निर्माण कम्पन्नीको लापरबाहिःनिर्माण नसकिँदै चर्कियो सिंजाखोला पक्की पुल


“६ वर्षदेखि अलपत्र रहेको पुल निर्माण कम्पन्नीकै कमजोरीले बीचमै चर्किएपछि निर्माण कार्य फेरी अनिश्चित रुपमा पछि धकेलिएको छ ।”

जुम्ला ।  जुम्ला–कालिकोट जोड्ने पक्की पुल निर्माण नसकिँदै चर्किएको छ । सिमावर्ती क्षेत्र नाग्ममा निर्माणधिन सिंजा खोला पक्की एकसाता अघि एकाएक चर्किएको हो । जसले गर्दा पुल निर्माण थप पछि धकेलिएको छ । उक्त पुलले कालिकोट–जुम्ला र मुगुको सिमावती क्षेत्र नाग्म बजारलाई जोड्छ ।

२०६१÷६२ सालबाट संचालित जीण बेलिब्रीजबाटै ठुला सवारी जोखिम पुर्ण यात्रा गरिरहेका छन् । कति बेला दुर्घटना हुने भन्ने सकिने अबस्था छैन् । चाँडै पुल बन्ला र सुरक्षित यात्रा गरौला भन्ने आशामा बसेका स्थानीय निर्माण नसकिँदै पुल चर्किएपछि निर्माणमा लापरबाहि गरेको भन्दै आक्रोसित भएका छन् ।

तिला ७ का कृष्णबहादुर बुढाले भन्नुभयो,“पक्की पुल बन्ने भनिएको ६ वर्षसम्म पनि बन्न नसक्नु दुःखद पक्ष हो । सँगै काम थालिएका कर्णाली राजमार्गका अन्य पुल बनेर सञ्चालनमा आइसकेका छन् । तर सिंजाखोला पुल ६ वर्ष बित्दा पनि बनेको छैन् । निर्माण सकिनै लागेको पुल चर्किनुमा कसको लापरबाहीले हो ? तत्काल छानबिन गरेर कारबाही गर्नुपर्छ ।”

लामो समयसम्म पुल निर्माणको काम चलिरहनु, त्यसैमा पनि सञ्चालनमा नआउँदै पुल चर्किनु बिडम्वना नै रहेको स्थानीय अगुवाहरू बताउँनुहुन्छ । कमसल सामाग्रीको प्रयोग गरेका कारण पुल बीचमै भत्कीन थालेको स्थानीयको आशंका छ ।

असार महिनाभित्रै पुलमा गाडी गुडाउने तयारी भएपनि पुलको फाइनल स्टेसिङ गर्दा बीचमै चर्किएपछि निर्माण रोकिएको सडक डिभिजन सुर्खेतका इन्जिनियर तुलाराम शर्मा बताउनुभयो ।

उहाँले भन्नुभयो,“उच्च प्रविधियुक्त अर्थात (प्रि–स्टे«स) प्रविधिको कर्णालीकै दोस्रो पुल हो । कमसल सामाग्रीको प्रयोग नभइ फाईनल स्ट्रेसिङ अर्थात लडा तान्दा समस्या आयो । हाइअल्टिच्युडमा पहिलो पटक फरक टेक्नोलोजीको पुल बनाउँदा समस्या देखियो । पुल चर्किदा निर्माण कार्य धकेलियो । उहि लागतमा निर्माण कम्पन्नीले कार्यलाई निरन्तरता दिने छ ।”

ठेक्का नं. ३ मा रहेको सिंजाखोला पुल यो वर्ष सकिने गरि म्याद थप गरिएको थियो । तर पुल नै चर्किएपछि पुल निर्माणको कामसमेत अनिश्चित बनेको छ । अब पुललाई ग्राउटिङ गरेर पुर्न स्ट्रेसिङ गरेर मात्र निर्माण प्रक्रिया अघि बढ्ने ईन्जिनियर शर्माको भनाई छ ।

उहाँले थप्नुभयो,“प्रिस्ट्र«ेस गर्दा पुल चर्किएको छ । फेरि ग्राउटिङ गर्नुपर्छ । जसका लागि नेपालमा उपकरण र जनशक्ति छैनन् । भारतबाट विज्ञ र टेक्नोलोजी ल्याएपछि मात्र काम अघि बढ्छ । साउन पहिलो साता भारतबाट विज्ञको टोली आउँछ । दशैमा संचालनमा ल्याउने गरी काम अघि बढ्छ ।”

अहिलेसम्म उक्त पुलको तीन पटक म्याद थपि सकिएको छ । तर निर्माण कम्पन्नीको ढिलासुस्ती र कोभिडले निर्माण भएन् । भने,सिंजाखोला पुलको लम्बाइ ४० मिटर र चौडाई ११ मिटर छ । यो पुल ५० टन लोड क्षमताको रहेको छ ।

६ वर्षदेखि पुल अधुरै
निर्माण नसकिँदै चर्किएर पुनः ग्राउटिङ गर्नुपर्ने अबस्थाम पुगेको सिंजाखोला पक्की पुल विगत ६ वर्षदेखि अधुरै रहेको छ । उक्त पुलको २०७४ कात्तिक ३० गते सुर्खेत स्थित सूर्य कन्ट्रक्सन प्रा.लिसँग दुई वर्षमा कार्य सक्ने गरी सम्झौता भएको थियो ।

सम्झौतामा २०७५ चैत १४ गते पुलको निर्माण कार्य सकिएर सवारीसाधन आउजाउ गराउने उल्लेख छ । तर ६ वर्षसम्म पनि पुल निर्माण सकिएको छैन् । मुस्किलले निर्माण सकिन लागेको पुल निर्माण कम्पन्नीकै लापरबाहिले चर्किएपछि फेरी काम बीचमै अलपत्र परेको छ ।

सम्झौता मिति सकेर तीन पटक म्याद थपेर पनि ६ वर्ष सम्म अलपत्र हुँदा सुर्खेत सडक डिभिजनले खास्सै ताकेता दिएको छैन् । नागरिक तहबाट कमसल सामग्रीको प्रयोग र कमजोर जनशक्तिले पुल निर्माणमा लापबारही भएको आशंका गरिरहेका छन् । सम्झौतामा कर्णाली राजमार्गको छिडेना र सिंजाखोला पुलको एउटै ठेक्का बनाइएको छ । जसमा एकमुष्ट रकम १३ करोड रुपैयाँ रहेको छ ।

ईन्जिनियर तुलराज शर्मा भन्छन,“सिंजा खोला पक्की पुल निर्माणमा शुरुवाती देखिनै समस्या हुदै आएको छ । पुलको पहिलो डिजाइन नै गलत थियो । जसले गर्दा सम्झौता अनुसार पुल निर्माण अघि बढेन् । फेरी अर्को डिजाइन गर्यौ । पहिलो ठेक्का सम्झौताको अवधि डिजाइनमै बित्यो । त्यसैले निर्माण ६ वर्ष बित्यो ।”

इन्जिनियर शर्माका अनुसार प्रि–स्ट्रेस पुल निर्माणमा कमसल सामाग्रीको प्रयोग नभइ स्टेसिङ गर्दा मान्त्रै समस्या आएको जिकिर गर्नुभयो । भने,चर्किएको पुल कन्ट्रयाक्टरले नबनाएसम्म सवारीसाधन भुक्तानी पनि नहुने र गाडी पनि चल्न नदिईने उल्लेख गर्नुभयो ।

पुल सबै हिसाबले परीपक्क मापदण्ड अनुसार निर्माण नहुँदा सम्म भुक्तानी नदिने र अहिलेसम्म प्रयोगमा आएको टेक्नोलोजी फेल भएमा फेरि भत्काएर बनाउनु पर्ने पनि शर्मा को भनाइ छ ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस