जुम्ला ः खस भाषाको उद्गमस्थल सिँजा उपत्यकामा दुई सय ३३ वर्षपछि हाटबजार सुरु गरिएको छ । विसं १८४६ पूर्वको तत्कालीन शक्तिशाली सिँजा राज्यका वेलादेखि ’हाट’ शब्द प्रयोग हुन थालेको हो । यसको आफ्नै इतिहास छ। दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिँजामा लाग्ने ’हाट’ आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले पनि निकै महत्त्वपूर्ण मानिन्थ्यो ।
’हाट’कै कारण १२ औं शताब्दीदेखि १४औं शताब्दीसम्म सिँजा खस राज्य आर्थिक रूपमा बलियो भएको इतिहासमा पाउन सकिन्छ। उतिवेलाको ’हाट’ आजको प्रमुख व्यापारिक केन्द्रजस्तै हो । सामान्यतया नेपालको पूर्व–पश्चिममा अहिले पनि मौसम र बारअनुसारको हाटबजार लाग्ने चलन छ। केही मीठो चिज वा राम्रो वस्तु लिनुपर्दा ’हाट’ जान्छु भन्ने प्रचलन आज पनि कर्णालीका दूरदराजका बस्तीहरूमा कायमै छ ।
यो विशेष गरी ६५ वर्षमाथिका बुढापाकाहरूले भन्ने गर्छन् । सिँजा उपत्यकाको उत्तर–पूर्वी भागमा अवस्थित ठाउँलाई अहिले पनि ’हाट सिँजा’ भन्छन् । अहिले त्यहाँ हाटसिँजा भन्ने गाउँ रहेको छ। ’हाट’लाई अर्थ्याउँदा दुकान भन्ने पनि लाग्छ । यद्यपि, उतिवेलाको ’हाट’ शब्दले आजको विशालबजारजस्तो
पनि बुझाउँछ । यसलाई ग्रामीण क्षेत्रको एउटा सानो । बजारका रूपमा पनि हेरिन्छ । अहिले भने ’हाट’ (बजार) लाई खुला सडक वा चौरमा भन्ने अर्थ लगाइन्छ। यही हाट’को विरासतलाई पुनरुत्थान गर्दै सिँजा गाउँपालिका जुम्लाले १ साउनबाट ’हाट’बजार सुरु गरेको छ ।
जुम्ला राज्यमाथि आक्रमण गरी गोर्खालीहरूले आफ्नो कब्जामा लिएपछिको दुई सय ३३ वर्षपछि उक्त ’हाट’बजारको पुनस्र्थापना गरिएको छ । गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोटमा शनिबार विधिवत् रूपमा ’हाट’बजार सुरु गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले बताए। उनले भने, ’सिँजाको संस्कृतिको जगेर्ना तथा स्थानीय उत्पादनलाई बजारीकरण गर्न हामीले ’हाट’बजार परम्परालाई थालनी गरेका छौं ।
यो एउटा ऐतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकासको कार्य हो । गाउँ सरकारले यसको प्रवर्द्धनमा जोड दिन्छ। कर्णालीको इतिहास र संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार सहरको विकास भइनसकेको अवस्थामा वस्तु विनिमय गरिने स्थानलाई नै ’हाट’बजार भन्दै आइएको थियो । उनले भने, ’त्यतिवेला अहिलेको जस्तो पैसाले किनमेल गर्ने चलन थिएन । ऊन दिएर अन्न लिने, अन्न दिएर लत्ताकपडा किनिन्थ्यो । वस्तु दिएर वस्तु नै लिइन्थ्यो, जहाँ सामूहिक रूपमा किनमेल हुन्थ्यो।’
दुई सय ३३ वर्षपछि सिँजा उपत्यकामा हाटबजार पुनः सुरु
प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस