गठबन्धनका शीर्ष नेताको बैठकअघि प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं ,सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।  गठबन्धनका शीर्ष नेताहरुबीचको बैठकअघि प्रचण्ड र नेपालबीच हात्तिवनस्थित एक अपार्टमेन्टमा भेटवार्ता भएको हो ।

भेटवार्तामा गठबन्धनमा आफ्नो पार्टीले दावी गर्ने सिट र चुनाव लड्ने नेताहरुका बारेमा कुराकानी भएको बुझिएको छ । साथै वाम एकताका लागि एकता संयोजन समिति बनाउने विषयमा समेत नेताहरुबीच कुराकानी भएको बुझिएको छ ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत सहभागी भेटवार्तामा आसन्न निर्वाचनको चुनावी घोषणापत्रका विषयमा समेत सामान्य कुराकानी भएको अध्यक्ष नेपाल निकट एक नेताले जानकारी दिए । गठबन्धनका शीर्ष नेताबीच दिउँसो ३ बजे छलफलका लागि समय निर्धारण भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

निर्वाचनका लागि सिट बाँडफाँट र तालमेलको मोडालिटी तय गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलले भदौ पहिलो साता प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने भनेपनि सहमति जुट्न नसक्दा सिट बाँडफाँट पेचिलो बन्दै आएको छ ।

स्रोतका अनुसार तोकेको समयमा कार्यदलले प्रतिवेदन तयार पार्न नसकेपछि थप एक साता समय माग्ने तयारी कार्यदलको छ । कार्यदलका संयोजक कांग्रेस नेता कृष्ण सिटौला रहेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस