जुम्ला । दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला स्थित पक्की पुलको लोड परिक्षण सकिएपछि अबरुद्ध कर्णाली राजमार्ग खुलेको छ । लोड परिक्षणको काम सुरु गरेको करिब ४० घण्टा पछि विहिबार दिउँसो २ बजेपछि राजमार्ग खुलेको हो ।
प्राविधिक दृष्टी पुलको लोड परिक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएकोले सडक डिभिजन जुम्लाको प्राविधिक टोलीले ४० घण्टा लगाए पुलको लोड परिक्षण सफल गरेको छ ।
अबरुद्ध खुलेसंगै डेढदिन देखि रोकिएका यात्रुबाहक तथा मालबहाक सवारी आफ्नो गन्तव्य तर्फ गएका छन् । पुल निर्माण संगै लोड परिक्षण गर्नुपर्ने भन्दै डेढ दिन सडक अबरुद्ध हुँदा सास्ती पाएको यात्रुहरुको गुनासो पोखेका छन् । जुम्लाबाट स्याउ लिएर गएका ट्रक साना ठुला यात्रु वाहक दर्जनौ सवारी रोकिएका थिए ।
यदपी प्राविधिक दृष्टिले पुल निर्माण भएको केहि वर्षपछि मात्र लोड परिक्षण गर्नुपर्ने हुन्छ । सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले भने,“पुल निर्माण भएको वर्षौपछि लोड परिक्षण किन ? भन्ने गुनासो धेरैको सुनियो । वास्तममा प्राविधिक दृष्टिले पुलको दिगोपना,गुणस्तर र सम्भावित जोखिम पत्ता लगाउन पछिनै लोड परिक्षण गर्नुपर्ने हुनाले पुुल निर्माण भएको केहि वर्षपछि लोड परिक्षण गरेका हौ । नागरिकले प्राविधिक कुरा नबुझी अबरुद्ध छिटो खुलाउन माग राख्नु स्वभाविक हो ।”
पुल निर्माण हुँदा विभिन्न परिक्षणहरु हुन्छन् । जसमा लोड परिक्षण भने पुल संचालन भएको केहि समयपछि मात्र हुन्छ । २४ घण्टा लोड परिक्षण गर्नै पर्ने भएपनि ३६ घण्टा अबरुद्धलाई छोटयाउने प्रयास गरेपनि विप्लवको बन्द तथा नागरिकहरुले धैर्य नगर्दा ४० घण्टा सडक अबरुद्ध भएको प्रमुख श्रेष्ठको भनाई छ ।
लोड परिक्षण पछि पुलले यति लोड धान्छ भन्ने हुदैन् । तर प्राविधिक दृष्टिले घट्टेखोला पुल जोखिम रहित रहेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी राजु प्रसाद पौडेलले बताए । चार वटा गाडीलाई फूल लोड गरी संबेदनशील ठाउँमा २४ घण्टा राखेर लोड परिक्षण गरिएको उनको भनाई छ । उनका अनुसार विप्लवको बन्द र
यात्रुहरुको सहयोगले ३६ घण्टामा परिक्षण सक्ने भनिएकोमा ४ घण्टा थप भएको हो । उक्त पुल सबै दृष्टीले जोखिम रहित रहेको छ ।
साथै विहिबार विहान ६ बजे देखिनै कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका–८ स्थित कर्णाली नदीमा बनेको पक्की पुलको लोड क्षमता जाँच भईरहेको छ । लोड परिक्षणका लागि कर्णाली करिडोर पनि ३६ घण्टा अबरुद्ध गरिएको छ ।
कर्णाली राजमार्गलाई भरपर्दो र सुरक्षित बनाउनका लागि स्तरबृद्धीको कामलाई नियमित रुपमा अघि बढाइएको समेत सडक डिभिजन जुम्लाले जनाएको छ ।