ओलीसँग चुनाव लड्न कांग्रेसका ३ नेताको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तीन जनाले दाबी गरेका छन् ।

अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र अधिकारी, नेविसंघका पूर्व उपाध्यक्ष मेदनी सिटौला र विश्वदीप लिङ्देनले झापा–५ मा दाबी गरेका छन् ।

त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पेशा छोडेर अधिकारी गत निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्न पुगेका थिए । यसवर्ष पनि त्यसै क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गरी संसदमा नागरिकको आवाज उठाउनकै लागि उम्मेदवार बन्न चाहेको अधिकारीले बताए ।

‘राजनीतिक नियुक्ति लिनको निम्ति जागिर छोडेर चुनाव लडेको होइन । पार्टीको शिर उचो राख्न होमिएको हो’ अधिकारीले अनलाइनखबरसँग भने, ‘वाम गठबन्धनका बेला चुनाव हारिन्छ भन्ने कुरा दुनियाँलाई थाहा हुँदा मलाई थाहा थिएन होला र ?’ पार्टीमा उनी संस्थापन निकट छन् ।

नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष सिटौला यसपटक झापा–५ मा उठ्ने दाबीसहित सक्रियता बढाएका छन् । ३५ वर्षदेखि उनी कांग्रेसको राजनीति गर्दै आएका छन् । सिटौलाले तरुण दलको केन्द्रीय सदस्य, केन्द्रीय प्रचार समिति र विधान मस्यौदा समितिको संयोजक भएर भूमिका निर्वाह गरेका थिए ।

‘३५ वर्ष कांग्रेसको राजनीति गर्दै आएको छु । झापा–५ मा मेरो दाबी छ’, सिटौलाले अनलाइनखबरसँग भने, ‘पार्टीका नेताहरुको पनि सद्भाव मलाइ छ ।’ राप्रपाको तथा तटस्थ मत आफूले तान्न सक्ने सिटौलाले बताए ।

झापामा डा शेखर कोइराला पक्षको नेतृत्व सिटौलाले गर्दै आएका छन् । महामन्त्री शर्माको साथ पनि आफूलाई हुने उनले आशा व्यक्त गरे ।

महाधिवशेन प्रतिनिधि लिङ्देन प्रतिनिधिसभा निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्ने मनस्थितिमा छन् । लिङ्देन २०७४ सालमा माओवादी केन्द्र परित्याग गरि कांग्रेस प्रवेश गरेका थिए । २०६४ सालमा लिङ्देनले माओवादीबाट ओलीलाई यस क्षेत्रमा हराएका थिए । उनी हालै लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यमा लिङ्देन मनोनित भएका छन् ।

झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा नं १ देखि ८ सम्म, गौरीगञ्जको ३ देखि ६ वडा पर्छ ।

कुल २९ वडा रहेको झापा–५ मा स्थानीय तहको निर्वाचनमा एमालेले १८ वटा वडामा जितेको छ । सत्तारुढ गठबन्धनको समर्थन पाएका राप्रपा उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा कांग्रेसले जितेको छ ।

झापा–५ भित्र पर्ने विभिन्न वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मत हिसाब गर्दा एमाले पहिलो छ । एमालेले ४१ हजार ६१९, कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७८८, राप्रपाले ८ हजार ३५३ र एकीकृत समाजवादीले १ हजार ९८८ मत ल्याएका छन् ।

सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत जोड्दा एमालेको भन्दा ६ हजार ८२१ मत कम छ ।

२०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष ओलीले देशभरको सर्वाधिक मतान्तरले कांग्रेस उम्मेदवारलाई हराएका थिए । ओलीले ५७ हजार १३९ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए । दुई उम्मेदवारबीचको मतान्तर २८ हजार ८४२ थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस