सल्यान । सल्यानमा जङ्गली जनावरले बालीनाली सखाप पार्न थालेपछि किसान मर्कामा परेका छन् ।
जङ्गली जनावर बँदेल, बाँदर र दुम्सीले बालीनाली सखाप पार्न थालेका हो ।
जिल्लाका अधिकांश किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन् । बिहान उठेर घर गोठको काम नसक्दै किसान बारीमा पुग्नु पर्ने बाध्यता ।
बिहानै बारीमा नपुगे पाक्ने बेलाको बाली नरहने कुमाख गाउँपालिका ३ रात पहराका शिव बहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँका सबै मिलेर रातीमा पनि बारीमा बस्छौ । समूहमा आउने बँदेललाई एकातिरबाट धपायो अर्को तिरबाट आइहाल्छन् ।”
दिनमा बाँदरले र रातीमा बँदेल र दुम्सीको हुलले मकै बारी पसेर मकै सोत्तर पार्ने गरेको अर्का किसान ओपेन्द्र गोसाईंको भनाई छ । मकै लगायतको अन्नबाली जोगाउन राति राति समूहमा ढ्याङ्ग्रो बजाउँदै बारीमा मकै कुर्नु परेको छ ।
दिउँसो सुगा र बाँदरको आतङ्क उत्तिकै छ । दिन र रात दुवै समयमा जङ्गली जनावरले बालीनाली नष्ट गर्न थालेपछि रातको निन्द्रा र दिनको भोक हराएको चित्रनाथ योगीको भनाई छ । पाक्ने तयारीमा रहेको मकैलाई जङ्गली जनावरहरूले नष्ट गर्न थालेपछि समस्या भएको योगीले बताउनुभयो । उहाँले भन्नुभयो “जङ्गली जनावर धपाउनका लागि जाग्राम बस्नु परेको छ , रातको निद्रा र दिनको भोक सकै लगी सके ।”
जङ्गली जनावर धपाउन पहल गरी दिन किसानले स्थानीय सरकारलाई आग्रह गरेका छन् । वर्षौँदेखि जङ्गली जनावरले बालीनाली नष्ट गर्न थालेपछि खाद्यान्नमा समेत समस्या आउन थालेको उनीहरूको भनाई छ । दिन रात बालीनालीलाई पहरा दिँदा पनि बचाउन नसकिएको किसानहरूको गुनासो रहेको छ ।