मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्याएको हो।
प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी आजदेखि रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो।
रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत् वितरण गरिएको छ। प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर आजदेखि सञ्चालनमा ल्याइएको जानकारी दिए।
‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयवासीसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत् पुर्याउन सफल भएका छौँ’, यादवले भने। रासस